नेकपाको शिवगढी बैठक : भ्रम र यथार्थता

डेली न्युजराप्ती       २० चैत्र २०७८ ०८:४६ मा प्रकाशित     441 No Comments

‘दर्शन यथार्थताको बौद्धिक ज्ञान हो । यो तर्क बुद्धिमा आधारित हुन्छ’

दिर्घप्रसाद पाण्डे। नेपाल कम्युनिष्ट पार्टीको केन्द्रीय समितिको १२ औ पूर्ण बैठक कपिलवस्तुको शिवगढीमा चैत्र ४ गते देखि सञ्चालन भएर १५ गते सम्पन्न भएको छ । बैठक सञ्चालकै क्रममा बाहिर विभिन्न भ्रमहरूको प्रचार गरिएको थियो । बैठक बसिरहँदा बाहिर आएका केही भ्रमपूर्ण हल्लाहरू –“महासचिव विप्लवले पेस गरेको दस्ताबेज घोर दक्षिणपन्थी भएकोले अन्य केन्द्रीय सदस्यहरूले बिरोध गरेका छन् । बैठकमा क्रान्तिकारी पक्ष र दक्षिणपन्थी बिप्लव पक्षको बीच घमासान सङ्घर्ष चलेको छ । ब्यक्तिगत रूपमा एकले अर्कोलाई भ्रष्टचारी करार गरेका छन् । सिद्धान्तविहिन झगडा गर्दै छन् । महासचिव विप्लवको दक्षिणपन्थमा पतन भएको छ । विप्लवले चुनाव प्रयोगको नीति लिएर एमालेसँग एकता गर्दैछ । महापतन लेख्ने विप्लवको अझ ठूलो महापतन देखा परेको छ । विप्लवको दस्ताबेज बिरूद्ध अर्को दस्ताबेज आएको छ । विप्लवको पार्टी फुट्दै छ । केन्द्रीय सल्लाहाकारहरूले विप्लवको विरुद्ध नारा जुलुस गरेका छन् । बैठकमा हात हालाहालको स्थिति छ । केही सदस्यहरूको रूवाबासी चलेको छ ।” आदि । नकरात्मक प्रचारहरू विभिन्न पत्रपत्रिकाहरू र आफुहरूलाई माक्र्सवादी पण्डित सम्झिने केही बुद्धिजीवीहरूले निकै प्रचार गरेर जनतामा भ्रम पार्ने काम गरे ।देशका अन्य दलाल पुँजीवादीहरूको जे जस्तो हर्कत केन्द्रीय समितिमा हुन्छ, सायद नेपाल कम्युनिस्ट पार्टीको बैठकमा पनि भए होला भनेर यस्तो भ्रामक प्रचार गरेको हुन सक्छन् । बैठकको यथार्थताको बारेमा कुनैलाई थाहा थिएन । यो सबै अनुमानको भरमा गोयबल्स प्रचार मात्र थियो । यसले जनतालाई साह्रै निरास र दलालहरूलाई खुसी बनाएको थियो । यथार्थ यसको ठिक उल्टो थियो । बैठकमा ६८ जना केन्द्रीय सदस्यहरू र चार जना केन्द्रीय सल्लाहाकारहरूको उपस्थिति थियो । अपवादलाई छाडी सबै केन्द्रीय सदस्यहरू विगतको जनयुद्धका सहभागी भएकाहरू नै थिए । विगतको जनयुद्ध लडेका कमाण्डरहरू सहिद परिवारहरू, बेपत्ता परिबारहरू, शरीरमा गोलीका छर्रा बोकेका लडाकुहरू र प्रत्यक्ष लडाईंमा सहभागी भएकाहरू, जेलब्रेक गर्ने महिला कमाण्डर र तत्काल जेलजीवन बिताएर आएका लडाकुहरू मात्र थिए । केन्द्रीय समितिमा भएका सदस्यहरूको औसत उमेर ४०÷५० को बीचमा थियो । उनीहरूले दशबर्षे जनयुद्धमा प्रत्यक्ष भाग लिएका थिए र जनयुद्धको अवतरण पछि जनयुद्धको निरन्तरताका लागि मुल पार्टी एमाओवादीमा बिद्रोह गरी क.किरणको नेतृत्वमा ड्यास माओवादीमा लागेका थिए । क. किरणमा अकर्मण्यता भयो भनेर त्यहाँ पनि बिद्रोह गरि निर्माण भएको पार्टी हो नेपाल कम्युनिस्ट पार्टी । आफ्नो पूरा जीवन जनताको मुक्तिका लागि समर्पण गरेका यस्ता क्रान्तिकारीहरूमा बिचलन आयो भनेर हल्ला गर्नु दलालहरूको सेवा गर्नु भन्दा अरू केही थिएन ।
बैठक शान्त, शालीन र अनुशासित रूपमा सन्चालन भएको थियो । बैठकमा महासचिव क. विप्लवले दश पृष्ठको दस्ताबेज पेस गरेका थिए । (दस्ताबेजको अन्तरवस्तुका बारेमा यहाँ बताउन उपयुक्त नहुने हुँदा बताइएको छैन) । महासचिव क.विप्लवले पार्टीको तर्फबाट दस्ताबेज पेस गरि सकेपछि छलफलका लागि सबै सदस्यहरूलाई भाग लिन आब्हान गरेका थिए । कुनै पनि बक्तालाई समयको निर्धारण गरिएको थिएन । पूर्ण जनवादको प्रयोग सबै केन्द्रीय सदस्यहरूले गरेका थिए । केही अपवादलाई छाडी सबै सदस्यहरूले सिद्धान्त, नीति कार्यक्रम र आगामी दिनमा पार्टीले अवलम्वन गर्नुपर्ने कार्यदिशाका बारेमा धारणाहरू राखेका थिए । लेनिनले भने जस्तै संगठन नै पार्टीको मुख्य हतियार हो, एउटै लक्ष्य र उद्देश्य भएकाहरूको भित्री बलियो संगठन र आम जनताहरूलाई त्यसको वरिपरि कसरी गोलबद्ध गर्न सकिन्छ भन्नेमा सबैको चासो थियो । ऐतिहासिक द्वन्द्वात्मक भौतिकवादलाई सबै केन्द्रीय सदस्यहरूले आफ्नो व्यवहारिक जीवनमा पालना नगरेसम्म जनतामा लागू गर्न सकिँदैन भन्ने कुराहरू उठेका थिए । दर्शन यथार्थताको बौद्धिक ज्ञान हो । यो तर्क बुद्धिमा आधारित हुन्छ । प्रत्येक पार्टी सदस्यहरूले दर्शनलाई पक्रन तर्कबुद्धिको बिकास गर्न आवश्यक छ भन्ने कुराहरू आए । माक्र्सले भनेअनुसार आलोचनाको हतियारले हतियारको आलोचनासँग लड्न सकिँदैन । भौतिक हतियारसँग लड्न भौतिक हतियार नै चाहिन्छ भन्ने कुराहरू उठे । सिद्धान्त पनि भौतिक हतियार बन्न सक्छ, जब यसले आम जनताहरूलाई बसिभूत गर्न सक्छ । त्यसबेलामा मात्र सिद्धान्तले जनताहरूलाई बसिभूत गर्न सक्छ, जब उत्पीडित जनताहरूका अति आवश्यकताहरूको पार्टीले पूरा गर्न सक्दछ भन्ने कुराहरू आए । वर्गसङ्घर्ष बेगर उत्पीडित जनताहरूको आवश्यकताहरू पूरा गर्ग सकिँदैन भन्नेमा सबैको भनाइ रह्यो । सबै पार्टी सदस्यहरूलाई उत्पादनको क्षेत्रमा सरिक गराएर पार्टी आत्मनिर्भर हुनुपर्ने कामको थालनी भएकोमा यसलाई बिस्तार गर्न पर्नेमा जोड रह्यो । स्थानीय चुनाव राजनीतिक कार्यक्रम भएकोले यसका बारेमा दस्ताबेज र केन्द्रीय सदस्यहरूमा उठ्ने नै बिषय भएकाले उठ्ने नै भए र उठे पनि । यस बिषयमा व्यापक छलफलहरू भएका थिए । सबै बिषयलाई महासचिवले खुला गरिदिए पछि पक्ष बिपक्षमा बहस हुनु स्वभाविक नै हो । छलफल तर्क वितर्क हुनु माक्र्सवाद सम्मत कुरा नै हो । नेपालको प्रजातान्त्रिक भनिएको बहुदलको र पञ्चायतको इतिहास कालभर चुनावहरू भइरहेका छन् । नेपाल कम्युनिस्ट पार्टीले २०१० सालको काठमाण्डौ नगरको चुनावदेखि २०३० को दशक सम्मका सबै चुनावमा भाग लिदै आयो । २०३० साल पछिका चुनावहरूमा हाम्रो मातृ पार्टी केन्द्रीय न्यूक्लियर्स चौमले बहिस्कार गर्दै आयो । परिवर्तित स्थितिका २०३६ सालको जनमत सङ्ग्रह, २०४८ सालको संसदको पुनःस्थापनाको संसदको चुनाव र २०६४ को संविधान सभाको चुनाब बाहेक अरू सबै चुनाव बहिस्कार गर्दै आएको मूल्याङ्कन गरियो । प्रतिक्रियावादी व्यवस्था भित्रका चुनावहरू प्रयोग वा बहिस्कार गर्दा भएका उपलब्धी हेर्दा जता पनि शून्य उपलब्धी भएको निचोड निकालियो । चुनाव जितेर सत्ता परिवर्तन गर्ने कुरालाई माक्र्सकै पालादेखि नकारेको कुरालाई स्वीकार गरियो । हाम्रै इतिहासमा पनि २०६४ सालको संविधान सभाको चुनावमा लगभग बहुमत प्राप्त गरेर कम्युनिस्ट पार्टीको नेतृत्वमा गठन भएको सरकारलाई एक सेनापतिको ब्यक्तिगत बलले हटाएको पनि मूल्याङ्कन गरियो । दर्जनौ पटक चुनाव बहिस्कार गर्दा पनि बहिस्कारबाट आन्दोलन उठाएर सरकारसम्म परिवर्तन गरेको इतिहास बनाउन नसकेको स्वीकार गरियो । चुनाव प्रयोग वा बहिस्कार भनेर अहिलेसम्म चुनावको समयमा प्रतिक्रीयावादीलाई नै फाइदा पुगेको निष्कर्ष निकालियो । प्रत्येक चार पाँच बर्षमा हुने प्रतिक्रियावादी बीचको चुनावको नौटङ्की साम, दाम, दण्ड, भेद गुण्डाहरू प्रयोग गरेर कुन डाँका समुहले देश लुट्ने भन्ने चुनावको प्रयोग वा बहिस्कार भनेर किनारामा साक्षी बस्नुको कुनै अर्थ नभएको निष्कर्ष सहित चुनावमा भाग नलिने निर्णय भयो । माओले भने जस्तै तिमी तिम्रो तरिकाले लड हामी हाम्रो तरिकाले लड्छौं । राष्ट्रियता, जनतन्त्र रजनजीवीका सवाललाई लिएर सङ्घर्षलाई अघि बढाउँदै जाने । एमसीसी जस्तो राष्ट्रघाती सम्झौताका विपक्षी पक्षधरहरूलाई गोलबन्द गर्दै राष्ट्रियताको आन्दोलनलाई तीब्र पार्ने । कुनै राष्ट्रवादीहरू स्वतन्त्र रूपमा चुनावमा उठेमा प्रतिक्रियावादीहरूका सट्टा स्वतन्त्र उमेदवारलाई मतदान गर्न जनताहरूलाई छुट दिने आदि निर्णय गर्दै बैठक सर्वसम्मत रूपमा क.महासचिवको दस्ताबेजलाई पास गर्दै सम्पन्न भयो । यही नै यथार्थता हो ।
जनबाटोबाट…

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार