स्थानीय चुनावको कार्यनीति नयाँ र सही छ

डेली न्युजराप्ती       २१ बैशाख २०७९ ११:४५ मा प्रकाशित     289 No Comments


*भर्खरै तपाईंहरूले पार्टी केन्द्रीय समितिको १२ औँ बैठक सम्पन्न गर्नुभएको छ, बैठकमा व्यापक बहस पनि भएको बुझियो, यहाँले १२ औँ बैठकका अनुभूति र निर्णयबारे कसरी व्याख्या गर्नुहुन्छ ?
राम्रो प्रश्न गर्नुभयो । साँचो हो कि हाम्रो पार्टीको बाह्रौँ पूर्ण बैठक राजनीतिक निर्णयहरू र अनुभूतिका दृष्टिले केही नौलो र विशिष्ट खालको रह्यो । खासगरी बैठकबाट हामीले विश्वलाई कसरी हेर्नुपर्छ, नेपाल, क्रान्ति, पार्टीको भूमिका र यसले लिने कार्यनीतिलाई कसरी हेर्नुपर्छ भन्ने विषयमा जसरी बहस ग¥र्यौँ र निष्कर्ष निकाल्यौँ, ती निकै भिन्न रहे । जस्तो कि विश्व परिस्थितिलाई विश्लेषण गर्दै पार्टीले विश्व साम्यवादी क्रान्तिका लागि अनुकूल परिस्थिति बन्दै गएको निष्कर्ष निकालेको छ । मुख्यतः सन् १९९० को दशकदेखि सुरु भएको अमेरिकी एक ध्रुवीय विश्व सिरिया हुँदै युक्रेनयुद्धमा पुगेर समाप्त भएको छ । विश्व बहुध्रुव या दुई ध्रुवमा विभाजित बन्न पुगेको छ । एकातिर अमेरिका–ब्रिटेनसहितको ध्रुव खडा छ भने अर्कोतिर रुस–चीनसहितको ध्रुव खडा भएको छ । यसले कुनै पनि कमजोर देशमा एउटा मात्र शक्तिराष्ट्रको प्रभुत्व सम्भव नरहने अवस्था बनाइदिएको छ । अर्को पुँजीवादी युद्ध भनेको ध्वंस मात्र दिने युद्ध हो । यसले श्रमिक जनताको हितमा कुनै सुखद् परिणाम ल्याउँदैन । त्यसले श्रमिक जनतामा साम्यवादी चेतना र साम्यवादी क्रान्तिको महत्वबोध गराइदिन्छ । हामीले भनेका छौँ, २१ औँ शदी साम्यवादी क्रान्तिका लागि पुनरोत्थानकाल बन्न सक्छ ।

नेपालको राजनीतिक स्थितिको विश्लेषण गर्दै पार्टीले भनेको छ, नेपालमा दलाल पुँजीवादी सत्ता र संसदीय व्यवस्था पूरै असफल बन्न पुगेको छ । संसद् दलालहरूको भीडमा बदलिएको छ । संसदीय व्यवस्था देश र जनताको रक्षा गर्न असफल भएर आफ्नो औचित्व समाप्त पारेको छ । अर्कोतिर देशभक्त, प्रगतिशील, कम्युनिस्ट शक्तिहरूले हाम्रो पार्टीमाथि भरोसा राखेका छन् । यसले पनि नेपालमा वैज्ञानिक समाजवादी–साम्यवादी क्रान्तिको अनुकूलता बढाइदिएको छ । हामीले केही रणनीतिक महत्त्वका विषयसहित ऐतिहासिक नवौँ महाधिवेशन यही फागुन,–चैतमा गर्ने सोचेका थियौँ तर पुस÷माघमा फैलिएको ओमिक्रोन भाइरसको प्रभाव, राष्ट्रघाती एमसीसी विरोधी सङ्घर्ष र संसदीय व्यवस्थाको स्थानीय चुनावका कारण तत्काल सम्भव रहेन । तथापि आउँदो मंसिरभित्र महाधिवेशन सम्पन्न गर्ने निर्णय लिएका छौँ । एमसीसी विरोधी सङ्घर्ष केवल राष्ट्रिय स्वाधीनतासँग मात्र जोडिएको विषय नरहेर जनताको अधिकारसँग पनि जोडिएको जनवादको विषय पनि बन्न पुगेको छ । राष्ट्रियता र जनवादको समस्या समाधान गर्नु भनेको सारमा नेपाली क्रान्तिलाई सम्पन्न गर्ने विषय नै हुन्छ । यसरी हेर्दा पनि नेपाली क्रान्तिको सम्भावना अरू अनुकूल बन्न पुगेको छ । संसदीय व्यवस्थाको स्थानीय निर्वाचन नजिक आएको सन्दर्भमा यो मोर्चामा कसरी लड्ने बहिस्कार गरेर, सशस्त्र बहिस्कार गरेर या पार्टी चुनावमा होमिएर भन्ने बहस सशक्त प्रकारले भयो । अन्तमा हामीले निष्कर्ष निकाल्दै भन्यौँ पार्टी दर्ता गरेर चुनावको उपयोग नगर्ने तर एमसीसी विरोधी एवम् राष्ट्रघातविरोधी प्रतिनिधिहरूलाई सहभागी बनाउने र सहयोग गर्नु उपयुक्त हुनेछ । साथै, संसदीय व्यवस्थाको भण्डाफोर र जनमतसंग्रहको पक्षमा प्रचार गर्दै जानुपर्दछ । अहिले पार्टी यही कार्यनीतिमा दृढतापूर्वक अगाडि बढिरहेको छ ।

*पार्टीले आसन्न स्थानीय चुनावबारे अलि फरक कार्यनीति लिएको कुरा गर्नुभयो, यो भनेको के हो ?

हो, संसदीय चुनावलाई हालसम्म कम्युनिस्टहरूले बढी जसो बहिस्कार, सशस्त्र बहिस्कार र उपयोग गर्ने तरिका प्रयोग गरेका छन् । हामीले पनि पार्टी पुनर्गठनदेखि बहिस्कार गर्दै आएका थियौँ । यो पटकको स्थानीय चुनावलाई के गर्ने भन्नेमा लामो छलफल गरेपछि पार्टी दर्ता गरेर चुनावको उपयोग नगर्ने तर देशभक्त, जनवादी प्रतिनिधिहरूलाई सहभागी बनाउने र सहयोग गर्ने भन्ने निर्णय गरेका छौँ । यो कार्यनीति केही नयाँ छ तर यो अहिलेको सन्दर्भमा सही छ ।

*तपाईंहरू अहिलेको संसदीय व्यवस्था र संविधानसँग असहमत हुँदै सङ्घर्षमा रहनुभएको पार्टी, अहिले चुनावको प्रयोग गर्ने निर्णय लिनुभयो, के कारणले यस्तो निष्कर्षमा पुग्नुभयो अथवा यो निर्णय लिनुका पछाडि के कुराले प्रेरित गरे जस्तो लाग्छ ?

हामीले स्पष्ट गरेका छौँ कि सैद्धान्तिक रूपले संसदीय व्यवस्था श्रमिक जनताको व्यवस्था होइन, यो मुठ्ठीभर दलाल पुँजीपति वर्ग, साम्राज्यवादी र उनीहरूका दलालहरूकै व्यवस्था हो । यो व्यवस्थाको चुनावबाट देश र जनताको पक्षमा आमूल परिवर्तन गर्न सम्भव छैन । यो व्यवस्थालाई श्रमिक जनताको बलद्वारा नै मिल्काउनुपर्छ । यद्यपि अहिलेको अवस्थामा यदि संसदवादी शक्तिहरू तयार भएमा हामीले जनमत संग्रहद्वारा पनि परिवर्तन गर्न सम्भव छ भन्ने कार्यनीति लिएका छौँ । हरेक कार्यनीति भनेको सङ्घर्षको मोर्चा हो, यो परिस्थितिजन्य, अस्थायी, तात्कालिक एवम् परिवर्तनशील हुन्छ । हाम्रो चुनावी कार्यनीति पनि वैशाख ३० गतेसम्म पुगेर नयाँ कार्यनीतिमा बदलिनेछ ।

जहाँसम्म स्थानीय चुनावलाई पार्टीले बहिस्कार पनि नगर्ने पार्टी दर्ता गरेर उपयोग पनि नगर्ने तर देशभक्त, जनवादी शक्तिहरूलाई सहभागि बनाउने र सहयोग गर्ने भन्ने कार्यनीति लिएको छ; यसका पछाडि केही महत्वपूर्ण कारणहरू रहेको हाम्रो दस्तावेजमा स्पष्ट छ । पहिलो हामी दुई वर्षको प्रतिबन्धपछि जनतासँग खुल्ला कार्यमा सहभागी बन्न आएका छौँ । हामीले लिने कार्यनीतिले यसलाई बाधा पार्नुहुँदैन । दोस्रो प्रतिबन्धका कारण जनसम्बन्ध र पार्टी सङ्गठनमा टुटेका कडीहरूलाई चारैतिर जोड्न आवश्यक छ । तेस्रो, देशमा राष्ट्रघाती र राष्ट्रवादी, देशभक्त र दलालहरूका बीचमा व्यापक ध्रुवीकरणको सम्भावना पैदा भएको छ, यसलाई पकड्न आवश्यक छ, तेस्रो हामी सहर र गाउँँ दुवैलाई एकीकृत प्रकारले जोड्न चाहन्छौँ । चौथो, हाम्रा युवा कमरेडहरू अहिले पनि ३५ जनाभन्दा बढी जेलमै हुनुहुन्छ । उहाँहरूलाई मुक्त गर्नुपर्नेछ । पाँचौँ, देशभक्त शक्ति र क्रान्तिकारी मित्रहरूलाई एकताबद्ध गरेर बढ्न आवश्यक छ । छैठौँ, हाम्रा आधार गाउँँहरूलाई संसदवादी पार्टीहरूको हातमा छोड्नुहुँदैन । यी यस्ता कारणहरू हुन्, जसले हामीलाई चुनावबारे हालको कार्यनीति लिन प्रेरित गरेका छन् ।

*अलिकति बाह्य परिस्थितिबारे कुरा गर्दा यहाँहरूले आजको विश्वलाई बहुध्रुवीय र समाजवादी क्रान्तिको लागि वातावरण बन्दै गएको अर्थमा विश्लेषण गर्नुभएको छ, यसलाई कसरी बुझ्दा सही होला ?

तपाईंले भन्नुभएको सही हो । बाह्रौँ केन्द्रीय समितिले विश्व परिस्थिति साम्यवादी क्रान्तिको अनुकूल बन्दै गएको निष्कर्ष निकालेको छ, जो सही र वस्तुवादी छ । यो निष्कर्षका पछाडि केही महत्वपूर्ण आधार छन् । जस्तो कि ९० को दशकबाट सुरु भएको अमेरिकी एक ध्रुवीय विश्व युक्रेन युद्धसँगै समाप्त भएको छ । यसले कुनै पनि कमजोर देशमा एउटै शक्तिको एकल नियन्त्रण सम्भव हुँदैन । दोस्रो, विश्वले आज जसरी पुँजीवादी युद्ध झेलिरहेको छ, पुँजीवादी युद्धले श्रमिक जनतालाई ध्वंसबाहेक केही दिँदैन । जुनसुकै पुँजीवादी देशले जिते पनि लाभ लिने ती देशका पुँजीवादी वर्गले नै हो, जनताले केही पाउँदैनन् । पुँजीवादी युद्ध र विध्वंसले जनतालाई साम्यवादी क्रान्तिको महत्व र आवश्यकताबोध गराइदिन्छ । सम्भवतः यो शताब्दी पुनः साम्यवादी क्रान्तिको पक्षमा ढल्किनेछ । तेस्रो, हाम्रो जस्तो देश जहाँ श्रमिक जनता दलाल पुँजीवादी सत्ताबाट आजित भएर वैज्ञानिक समाजवादी–साम्यवादी क्रान्तितिर आकर्षित भएका छन्, विश्व परिस्थितिले मद्दत नै गर्नेछ ।

  • पछिल्लोपटक एमसीसीविरुद्धको देशभक्तहरूको बृहत् मोर्चा निर्माणको कुरा पनि गरिरहनुभएको छ, यो कसरी हुन्छ र देशभक्त भनेर हामीले क–कसलाई बुझ्ने ?

ठीक भन्नुभयो, एमसीसीमा भयानक राष्ट्रघात भएपछि हामीले देशको स्वाधीनताको रक्षाका लागि दुईवटा शक्तिबीचको बृहत् मोर्चाबन्दी र सहकार्यमा जोड दिएका छौँ । त्यसमा देशभक्त शक्ति एउटा हो भने अर्को प्रगतिशील एवम् कम्युनिस्ट शक्तिहरू हुन् । जब देशभक्त र कम्युनिस्ट शक्तिहरू एकताबद्ध हुन्छन् र सङ्घर्षको मोर्चामा भाग लिन्छन्, तब स्थितिले नयाँ मोड पकड्छ । यस्तो अवस्था पहिलो र दोस्रो विश्वयुद्ध वरिपरि रुस, चीन, कम्बोडिया, क्युबा आदि देशमा देखापरेको थियो र आज हाम्रो देशमा बन्ने सम्भावना बढेको छ । ढिलो–चाँडो यो बन्छ भन्ने विश्वास छ । उदाहरणका लागि एमसीसीविरुद्धको सङ्घर्षमा नेपालमा बिरलै देखिने एउटा घटना देखियो, देशका सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरीबाट अवकासप्राप्त कमान्डर र सिपाहीहरू संगठित प्रकारले राष्ट्रिय स्वाधीनताको पक्षमा उत्रिए । यो सामान्य होइन, यसले सबैतिर प्रभाव पर्छ नै । नेपालमा देशभक्तहरू मुख्यतः चारक्षेत्रमा क्रियाशील छन् भन्ने हाम्रो बुझाइ छ । एउटा नेपालका धेरैजसो राजनीतिक पार्टीहरूभित्र देशभक्त नेता–कार्यकर्ताहरू छन् । दोस्रो, देशका सुरक्षा क्षेत्रमा देशभक्त अधिकृत र सदस्यहरू छन् । तेस्रो, कर्मचारीभित्र पनि देशभक्तहरू छन् । चौथो, विभिन्न उद्योग व्यवसायीहरूभित्र पनि देशभक्तहरू छन् । उनीहरूले वास्तवमा देशको स्वाधीनताका पक्षमा निकै ठूलो सहयोग पनि गरिरहेका छन् । हाम्रो विचार छ कि एकदिन यी सबै शक्तिलाई राष्ट्र रूपान्तरणका पक्षमा उठाउन सकिन्छ र देशलाई नयाँ व्यवस्थामा खडा गर्न सकिन्छ ।

*पार्टीले चुनावी कार्यनीति बनाएपछि यहाँहरू पनि अन्य संसदवादी कम्युनिस्टहरूकै बाटोमा आइपुग्नुभयो भनिन्छ नि, यसलाई कसरी प्रस्ट पार्नुहुन्छ ?

हो, मैले पनि यस्तो प्रचार सुनेको छु । हुन त हाम्रो लागि यो कुनै नयाँ प्रचार होइन । ओली सरकारसँग तीन बुँदे सहमति गर्दा पनि नेकपा र यसका नेताहरू केपी सरकारमा मन्त्री बन्छन्, उनीसँगै पार्टी एकता गर्छन् भने । पहिले पार्टी बनाउँदा पनि केही डाङडुङ पार्ने सत्तामा पुग्ने खेल हो भन्थे । पछि माओवादी केन्द्रसँग एकता गर्छन् भन्थे । तिनै तत्वहरूले अहिले नेकपा संसदवादी कम्युनिस्टहरूकै बाटोमा आए भन्छन् । यस्तो प्रचार गर्नेहरू या संसदवादमा नाकमुख डुबाएर कम्युनिस्ट चेत गुमाएका संसदवादी गोब्रेकिराहरू हुन् या हाम्रो पार्टीको सफलता र उचाइबाट भयभित भएका साम्राज्यवादी र उनीहरूका चाटुकारहरू हुन् या त २१ औँ शदीको क्रान्तिको मौलिक कार्यदिशा, रणनीति र कार्यनीतिहरूका सुसंगठित शृङ्खलालाई बुझ्न नसकेर हावामा भौँतारिएका रुढीवादी, जड, यान्त्रिक एवम् अवसरवादी तत्वहरू हुन् । यी कुनै पनि तत्वहरूले गर्ने स्यालहुइँयाले केही फरक पर्नेवाला छैन । वस्तुगत धरातल छोडेका तत्वहरू कराउँछन् र हराउँछन् । हाम्रो पार्टी संसदीय व्यवस्था, दलाल पुँजीवादी सत्ता, एकीकृत जनक्रान्ति, वैज्ञानिक समाजवाद–साम्यवादबारे एक अंश पनि अलमलमा छैन । हामी क्रान्ति गर्छाैँ तर हाम्रै मौलिक एवम् सृजनात्मक तरिकाले गर्छाैँ । जुन क्रान्तिमा सार्वभौमिकता र मौलिकता मिसिँदैन, त्यो क्रान्ति सफल हुँदैन । हामी मालेमावादप्रति जति सचेत र प्रतिबद्ध छौँ; त्यतिकै एकीकृत जनक्रान्ति र नेपाली मौलिकतामा पनि स्पष्ट छौँ । एकीकृत जनक्रान्ति नै यस्तो हतियार हो, जसले यहाँको प्रतिक्रियावादी दलाल पुँजीवादी सत्तालाई समाप्त पारिदिनेछ ।
– जनपत्रकार मासिकबाट

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार