साम्राज्यवादी हस्तक्षेप,राजबन्दी रिहाई,चर्को महंगी,मल बिउ अभावका विरुद्ध नेकपाद्वारा संघर्ष घोषणा

डेली न्युजराप्ती       २३ जेष्ठ २०७९ १३:५२ मा प्रकाशित     359 No Comments

काठमाडौं: नेपाल कम्युनिस्ट पार्टीले अमेरिकी साम्राज्यवादी हस्तक्षेप, MCC सम्झौता, भ्रष्ट्राचार एवं कमिशन, असार लाग्दा समेत किसानहरुले मल बिउ नपाएर तड्पिनुपर्ने अवस्था र कष्टकर जनजीविका विरुद्ध जनसंघर्षका कार्यक्रमहरु घोषणा गरेको छ ।

पार्टी प्रवक्ता प्रकाण्डले एक प्रेस विज्ञप्ति जारी गरि जनसंघर्षका कार्यक्रमहरु घोषणा गरिएको जानकारी गराएका छन् । घाेषित कार्यक्रम अनुसार यहीँ जेठ २५ गते राजमार्ग, काठमाण्डौं उपत्यका र देशव्यापी किसान विरोध प्रदर्शन गर्ने, जेठ २७ गते अमेरिकी साम्राज्यवादी हस्तक्षेप विरुद्ध देशव्यापी विरोध प्रदर्शन गर्ने, जेठ ३० गते MCC का कार्यालय र जिल्ला सदरमुकाममा विरोध प्रदर्शन र घरोउ गर्ने, असार २ गते राजबन्दी रिहाईको पक्षमा देशव्यापी मशाल जुलुस गर्ने, असार ५ गते चर्को महंगी र भाडावृद्धि विरुद्ध देशव्यापी विरोध प्रदर्शन गर्ने रहेका छन् ।

घोषित जनसंघर्षका कार्यक्रमलाई सक्रिय सहभागिताका साथ सफल पार्न आम नेपाली जनतामा पार्टी विशेष अपिल समेत गरेको छ ।

प्रेस विज्ञप्तिको पूरा पाठ –

देशको सार्वभौमिकता, राष्ट्रिय स्वाधिनता, जनअधिकार र जनजीविकाको दृष्टिले नेपाली जनता इतिहासमै चरम संकटको अवस्थाबाट गुज्रिरहेका छन । हाम्रो देशमाथी अमेरिकी साम्राज्यवादी हस्तक्षेप तीव्र भैराखेको छ । अमेरिकी उप विदेशमन्त्री अजरा जियाको नेपाल स्थित तिव्वतियन शरणार्थी शिविरको भ्रमणले उक्त कुराको पछिल्लो पुष्टि गर्दछ । MCC का अमेरिकी कर्मचारीहरु नाङ्गो रुपमा MCC परियोजनका टावर निमार्ण स्थलमा पुगेका छन् । पाल्पाको घटनाले यस कुराको उजागर गरेको छ । दलाल पुँजीवादी वर्ग र दलाल पुँजीका कारण देशको अर्थ व्यवस्था आयातमुखी र बजारमुखी बनेको छ भने विदेशी मुद्राको सञ्चिति र शोधान्तरमा गंभिर प्रकृतिका समस्याहरु पैदा भएका छन् । भ्रष्टाचार, कमिशन र कालोबजारीको दुष्चक्रले जनताको जनजीविका संकटग्रस्त छ । दैनिक उपभोग्य वस्तु र पेट्रोलियम पदार्थमा गरिएको मुल्यवृद्धि, यातायात क्षेत्रमा गरिएको भाडा बृद्धि र असारमा किसानले मल बिउ नपाउने अवस्थाले जनजीवन झन् पछि झन् चल्नै नसक्ने अवस्थामा पुग्दैछ । उपरोक्त तथ्यले देशको अर्थतन्त्र टाट उल्टिदै गरेको प्रमाणित गर्दछ । नागरिकको हत्या, महिला हिंसा र सामाजिक असुरक्षाको आतंक दिन प्रतिदिन बढ्दो अवस्थामा छ । आफुलाई लोकतन्त्रको मसिहा ठान्ने दलाल राज्यले स्थानीय निर्वाचनमा जनताले स्वतन्त्र मतदानद्वारा आफ्नो राजनीतिक अधिकारको प्रयोग गर्न पाउने अधिकारका विरुद्ध विकट जिल्लाहरुमा समेत एउटा भोटलाई १० हजार सम्ममा खरिद गरेको “चुनावी व्यापार” ले दलाल संसदीय व्यवस्थाको पाखण्डीपना, जालसाजी, जनविरोधी चरित्र र संसदीय व्यवस्थाको असफलताको पुनः पुष्टि गरेको छ।
देश र नेपाली जनताको जीवनमा पैदा भएका गभिर समस्याको समाधानार्थ तात्कालीक र दिर्धकालिन मुद्धालाई लिएर संघर्ष गर्नुको विकल्प नेपाली जनताका अगाडि रहेन । तसर्थ देश माथीको अमेरिकी साम्राज्यवादी हस्तक्षेप, MCC सम्झौता, भ्रष्ट्राचार एवं कमिशनको डरलाग्दो खेल, असार लाग्दा समेत किसानहरुले मल बिउ नपाएर तड्पिनुपर्ने अवस्था र कष्टकर जनजीविका विरुद्ध हाम्रो पार्टी निम्न जनसंघर्षका कार्यक्रमहरु घोषणा गर्दछ । घोषित जनसंघर्षका कार्यक्रमलाई सक्रिय सहभागिताका साथ सफल पार्न आम नेपाली जनतामा पार्टी विशेष अपिल गर्दछ।
जनसंघर्षका कार्यक्रमहरु:
१. ०७९ जेठ २५ गते राजमार्ग, काठमाण्डौं उपत्यका र देशव्यापी किसान विरोध प्रदर्शन ।
२. जेठ २७ गते अमेरिकी साम्राज्यवादी हस्तक्षेप विरुद्ध देशव्यापी विरोध प्रदर्शन ।
३. जेठ ३० गते MCC का कार्यालय र जिल्ला सदरमुकाममा विरोध प्रदर्शन र घरोउ ।
४. असार २ गते राजबन्दी रिहाईको पक्षमा देशव्यापी मशाल जुलुस ।
५. असार ५ गते चर्को महंगी र भाडावृद्धि विरुद्ध देशव्यापी विरोध प्रदर्शन ।
क्रान्तिकारी अभिवादन सहित !
२३ जेठ २०७९

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार