अमेरिकी सेनाका कमाण्डर नेपाल आएकै बेला नेकपाले साम्राज्यवादी हस्तक्षेप विरुद्ध देशव्यापी प्रदर्शन गर्ने

डेली न्युजराप्ती       २७ जेष्ठ २०७९ ०७:२१ मा प्रकाशित     448 No Comments


बुटवल । अमेरिकी सेनाको इन्डो प्यासिफिक कमाण्डका कमाण्डिङ जनरल चार्ल्स ए फ्लिन आज (बिहीबार) नेपाल आएका छन। निकट भविष्यमा हुने प्रधानमन्त्री देउवाको अमेरिका भ्रमणअघि उच्च सैन्य अधिकारीको भ्रमण हुन लागेको हो । देउवाभन्दा अघि प्रधानसेनापति प्रभुराम शर्मा अमेरिका जाँदैछन् ।नेपालले एमसीसी अनुमोदन गरेपछि अमेरिकी सेनाको इन्डो प्यासिफिक कमाण्डका कमाण्डरको यो पहिलो नेपाल भ्रमण हो । अमेरिकी सेनाले सञ्चालन गर्ने स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी) अन्तर्गत नेपाली सेनासँग दीर्घकालीन रुपमा सहकार्य गर्ने समझदारी पत्रमा हस्ताक्षरका लागि अमेरिकाले ताकेता गरिरहेको छ ।उक्त कार्यक्रमलाई अमेरिकी रक्षा मन्त्रालयले हिन्द प्रशान्त रणनीतिमा समावेश गरेको छ।भारत हुँदै नेपाल आउन लागेका उनले भारतीय सेनाका प्रधानसेनापति मनोज पाण्डेसँग द्विपक्षीय भेटवार्ता गरेको समाचारमा जनाइएको छ । भेटमा भारत र अमेरिकाबीच सैन्य सहकार्यका क्षेत्रहरुबारे छलफल भएको भारतीय सेनाले जनाएको छ।बिहीबार अपरान्ह काठमाडौं ओर्लने फ्लिनले शुक्रबार प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ। शुक्रबार नै उनी नेपाली सेनाको मुख्यालय जाने तय भएको छ। सैनिक मुख्यालयमा गार्डअफ अनर प्रदान गरिने नेपाली सेनाले जनाएको छ ।प्रधानसेनापति प्रभुराम शर्मा र फ्लिनबीच जंगी अड्डामा भेटवार्ता हुनेछ।शनिबार बिहान उनी हेलिकप्टरबाट माउन्टेन फ्लाइटमा जानेछन् भने त्यहाँबाट फर्किएपछि दूतावास र परराष्ट्र मन्त्रालयले तय गरेका कार्यक्रममा सहभागी हुनेछन्।यस्तै, जेठ २९ गते आइतबार उनी काभ्रेको पाँचखालस्थित वीरेन्द्र शान्ति सैनिक तालिम केन्द्र जानेछन्। त्यहाँ तालिम केन्द्रबारे उनलाई ब्रिफिङ गरिनेछ। त्यसलगत्तै उनलाई शिवपुरी लगिने सेनाले जनाएको छ ।नेपाली सेनाको कमाण्ड एण्ड स्टाफ कलेज शिवपुरीमा रहेका विद्यार्थीलाई सम्वोधन गर्नेछन् र सोही दिन उनी स्वदेश फर्किने छन्।

यता विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले आज अमेरिकी साम्राज्यवादी हस्तक्षेपका विरुद्ध देशव्यापी प्रदर्शन गर्ने जनाएको छ। नेकपाले चरणबद्ध संघर्षका कार्यक्रम अन्तर्गत आज साम्राज्यवादी हस्तक्षेपका विरुद्ध प्रदर्शन गर्न लागेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार