‘लिनपियाओवादी षड्यन्त्रकारी प्रवृत्तिमाथि क्रान्तिकारी हस्तक्षेप आवश्यक’

डेली न्युजराप्ती       १७ कार्तिक २०७९ १७:०९ मा प्रकाशित     127 No Comments

विचार:विप्लव

पार्टी एमसीसीविरुद्धको सङ्घर्षसम्म पुग्दा देशको श्रेष्ठ एवं क्रान्तिकारी पार्टीका रुपमा स्थापित बन्न पुग्यो । कम्युनिस्ट समर्थक नागरिकहरुको मात्र होइन, देशभक्त शक्ति र सर्वसाधारण नागरिकहरुको पनि भरोसाको केन्द्र बन्दै गयो । ठीक त्यही समयमा चुनावी कार्यनीतिलाई बहाना बनाएर सुदर्शन–कञ्चनहरुले एकीकृत जनक्रान्ति, पार्टी नेतृत्व र पार्टीमाथि “मौका कुरेर मार हान्ने” या षड्यन्त्रकारी तरिकाले पार्टी कब्जा गर्ने लिनपियाओवादी शैलीमा हमला गरे । उनीहरुलाई सहयोद्धा कमरेडकै विश्वासबाट व्यवहार गरिरहँदा अनुमान गरेभन्दा निकै परपुगेर वैरीले नलगाएका आरोपहरु वर्षाए । हमला यति योजनाबद्ध, आक्रमक र दुश्मनीपूर्ण देखियो कि खराब नियत भएका र भगौडा तत्वहरु मात्र होइन, केही इमान्दार साथीहरु पनि तिलमिलाउन पुगे ।उनीहरुले महासचिव–प्रवक्तालगायत नेताहरु संसदवादमा भासिएको, आत्मसमर्पणवादी भएको, क्रान्तिलाई ध्वस्त पारेको, एकीकृत जनक्रान्तिको कार्यदिशा सारसङ्ग्रहवादी भएको, जुुझारु अर्थवादी भएको भन्ने प्रचार गर्दै पार्टी नै फुटाउने ठाउँमा पुगे । पार्टी नीतिको बचाउ गर्ने पंक्ति निकै कमजोर जस्तो बन्यो । यो देखेर उनीहरु चोरी हाल्ने गोरु जस्तो जुरो ढल्काउँदै परपर कुद्ने अरु पछि–पछि हातपाउ जोड्दै हिँड्ने जस्तो देखियो । तर, जब पार्टीले लिनपियाओवादी षड्यन्त्रकारी प्रवृत्तिमाथि क्रान्तिकारी हस्तक्षेप गर्याे, तब त्यो प्रवृत्ति भचाक–भुचुक बन्न पुग्यो । उनीहरुले आफ्नो भ्रष्ट बिचलन एवं षड्यन्त्रकारी कर्मलाई जतिनै राजनैतिक रङ दिन खोजे पनि फोहर पानीको फोका जस्तो प्वाट्ट फुटेको छ । यद्यपि अझै केही अवसरवादी फ्याउराहरुको विभत्स क्रन्दन सुनिंदै छ, त्यसप्रति बेपर्वाह हुनुहुँदैन ।पार्टी नेतृत्व संसदवादमा फस्छ या क्रान्ति छोडेर दलाल पुँजीवादी सत्ताभित्र छिर्दछ भने त्यसलाई नाङ्गेझार पार्नै पर्दछ र क्रान्तिकारीहरुले विद्रोह गर्नै पर्दछ । संसदवाद, आत्मसमर्पणवाद र विसर्जनवादविरुद्ध धावा बोल्नुपर्छ र नयाँ पार्टी बनाउनै पर्छ । तर, के पार्टीको नेतृत्व र नेताहरुले सुदर्शन, कञ्चनहरुले भनेजस्तै एकीकृत जनक्रान्ति छोडेको, संसदवादमा प्रवेश गरेको या आत्मसमर्पण गरेको अवस्था हो ? के नेपाल कम्युनिस्ट पार्टीको सट्टा अर्को पार्टी खडा गर्नुपर्ने अवस्था बनेको हो ? के नेपाल कम्युनिस्ट पार्टी र यसको नेतृत्वमाथि हमला गर्दै विसर्जित पार्टीहरुसँग टाँसिन जानु उचित हो ? अनि उनीहरुले कुनचाहिँ विषयबाट हामीमाथि यस्ता आरोप लगाउन सके ? या उनीहरुले हामीबाट अलग भएपछि के चाहिँ नयाँ र हाम्रोभन्दा फरक संश्लेषणहरु गरे त ?बाह्रौँ पूर्ण बैठकमा पार्टीले स्थानीय चुनावलाई प्रयोग गर्ने कार्यनीति लिनुपर्छ भन्ने प्रस्ताव महासचिवले पेस गरेको साँच्चै हो तर यो प्रतिक्रियावादी, दलाल पुँजीवादी सत्ता र संसदीय व्यवस्थातिर फर्किनका लागि या क्रान्ति छोड्नका लागि कदापि थिएन र यो कल्पना गर्न सकिने विषय नै होइन । यदि नेतृत्वले संसदवादी मार्ग लिने सोच्दो हो भने किन स्थानीय चुनावको बाटोबाट लिनुपर्छ ? प्रचण्डसहितको माओवादी पार्टी, बाबुराम प्रधानमन्त्री बन्दाको परिस्थिति, ३ बुँदे सहमति हुँदा केपी सरकारको आग्रह, हालको पाँच दलीय गठबन्धनकै सोचाइ जताबाट पनि केन्द्रमै सहभागी बन्ने पर्याप्त विकल्पहरु थिएनन् र ! के यो सुदर्शनले जस्तो रिपोर्टस क्लबमा एउटा समानुपातिक संसदका लागि रुँदा पनि निर्दयी प्रचण्डको मन नपग्लिएर विरक्तिएको जस्तो हो र ! अनि यो कुरा भगौडा अवसरवादीहरुलाई थाहा छैन र !

(जनक्रान्ति अंक ५ बाट)

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार