हाम्रो लक्ष्य वैज्ञानिक समाजवाद स्थापना गर्नु हो त्यसमा दृढ हुनुपर्छ : नेता शितल

डेली न्युजराप्ती       २७ माघ २०७९ १६:२० मा प्रकाशित     198 No Comments

माघ २७ / दाङ । नेपाल कम्युनिस्ट पार्टीका पोलिटब्युरो सदस्य शितल सीले नेकपाको लक्ष्य वैज्ञानिक समाजवाद स्थापना गर्नु हो त्यसमा सबै नेता-कार्यकर्ता दृढ रहनुपर्ने धारणा व्यक्त गर्नुभएको छ ।
नेकपा तुलसीपुर उपमहानगर कमिटीको प्रथम बैठकलाई सम्बोधन गर्दै नेता शितलले उक्त धारणा व्यक्त गर्नुभएको हो।

पार्टीको तुलसीपुर उपमहानगर कमिटीको बैठकमा प्रशिक्षणात्मक मन्तव्य राख्दै नेता शितलले भने – ‘उत्पीडित बर्गिय पक्षधरताको आधारमा निर्माण गरिएको विचारमा दृढ हुनुपर्छ । हाम्रो लक्ष्य भनेको अहिलेको संसदीय व्यवस्थालाई समुल नस्ट गरेर वैज्ञानिक समाजवाद स्थापना गर्नु हो ।’

आफ्नो विचार र सिद्धान्तप्रती दृढ हुनुपर्छ , उनले थपे‘हामी यो देशमा आमूल परिवर्तनको निम्ति हिडेका छौँ । नेता-कार्यकर्ता सबै हाम्रो आफ्नो विचार , सिद्धान्तप्रती प्रतिबद्ध हुनुपर्छ । हाम्रो आफ्नो विचार जनतामा व्यापक बनाउनुपर्छ ।’

नेता शितलले पार्टीले जनआधारित पार्टी र जनअनुमोदित नेता-कार्यकर्ता भन्ने अभियानसहित गाउँगाउँमा जनतासंगै जनताको दुखसुखमा सधै रहने गरि अघि बढ्ने समेत बताउनुभएको थियो ।

एक अर्को प्रसंगमा बोल्दै नेता शितलले संसदीय व्यवस्था असफलसिद्ध प्रमाणित भइसकेकाले अब यसको विकल्पमा वैज्ञानिक समाजवाद निर्विकल्प भएको जिकिर गर्नुभएको थियो । उहाँले थप्नुभयो – ‘ यो दलाल पुजीवादी संसदीय व्यवस्थाका कारणले राजनीतिक , आर्थिक , सामाजिक , सांस्कृतिक लगाएतका सबै क्षेत्रमा भयंकर संकटमा परेका छन् । मध्यम वर्गका जनताहरु यो व्यवस्थाका कारणले आत्मदाह गर्न बाध्य भएका छन् । बहुसंख्यक जनताहरु पुजीवादी अर्थव्यवस्थाको कारणले प्रताडित छन् । सबै तप्काका जनताहरुले अब यो व्यवस्थालाई स्वीकार गर्दैनन् बरु यसका विरुद्ध देशैभरी बिद्रोहको बिगुल बजिरहेको छ । हामिलाइ बिश्वास छ अब यो व्यवस्थाले श्रमजीवी वर्गलाइ लुट्ने दिन समाप्त हुदैछ ।’

अब जनतालाइ वैज्ञानिक समाजवादका अवधारणाहरु गाउँ-गाउँमा बुझाउनुपर्छ : नेता प्रदिप सी

नेकपा तुलसीपुर उपमहानगर कमिटीको बैठकमा मन्तव्य राख्दै नेकपाका केन्द्रीय सदस्य तथा पश्चिम दाङका इन्चार्ज प्रदिप सीले जनतासंग एकाकार भएर , जनतासंग जोडिएर विकास निर्माण , दैनिक जनजिविका र जनसरोकारका बिसयलाई लिएर संगै जनतासंग रहने नीति पार्टीले लिएको स्पष्ट पार्नुभएको थियो ।
अब जनतालाइ वैज्ञानिक समाजवादका अवधारणाहरु गाउँ-गाउँमा बुझाउनुपर्छ , उनले थपे‘ राज्यले हामिलाइ जनतामा जानबाट रोक्न चाहेको छ । कहिले प्रतिबन्ध लगाएर , कहिले पक्राउ पुर्जी , वारेन्ट जारी गरेर राज्यले जनताबाट हामिलाइ टाढा बनाउन खोजेको छ । तर हामी यी सबै षड्यन्त्रहरुलाइ ध्वस्त पारेर जनतामा वैज्ञानिक समाजवाद बुझाउन जानैपर्छ ।’

नेता प्रदिपले राज्यले पार्टीसंग गरेको तीन बुदे सहमती अबिलम्ब लागु गर्न ,जेल जीवन बिताइरहेका बन्दीको रिहाई र झुठा मुद्दा  खारेज गर्न आग्रह समेत गर्नुभएको छ ।
बन्दी रिहाई र झुठा मुद्दा खारेज नगरे पार्टीले जनतामा गएर संघर्ष गर्नुको विकल्प नरहेको नेता प्रदिपको उद्घोष थियो ।

यस्तै बैठकमा नेकपा पश्चिम दाङका सेक्रेटरी निर्मल सीले नेकपाले अब गाउँगाउमा मिटरव्याजी , चर्को व्याजदर , महंगी , भ्रष्टाचार , कालोबजारी , अनियमितता , अन्याय , अत्याचार , दमनका विरुद्ध डटेर संघर्ष गर्ने बताउनुभएको थियो । उहाँले अब जाली , फटाहाहरुले गाउँमा गरिब ,निमुखा जनताहरुलाइ उठिबास लाउने कार्यका विरुद्ध पार्टी निर्मम बन्ने समेत ठोकुवा गर्नुभएको हो ।

बैठकमा आगामी योजनाको बारेमा नेकपा तुलसीपुर उपमहानगर कमिटीका इन्चार्ज भुवन सीले योजनागत प्रशिक्षण मन्तव्य व्यक्त गर्नुभएको थियो ।

नेपाल कम्युनिस्ट पार्टी तुलसीपुर उपमहानगर कमिटीले समाजवादी स्थानीय स्वायत्त जनसत्ता स्थापना गर्ने निर्णय गरेको छ । यस्तै बैठकले मिटरव्याज , चर्को व्याज , लघुवित्त विरुद्ध तुलसीपुरमा फागुन ५ गते बिरोध प्रदर्शन गर्नेपनि निर्णय गरेको छ साथै फागुन १५ गते भ्रष्टाचार , महंगी , कालोबजारीका विरुद्ध भव्य बिरोध प्रदर्शन गर्ने नेकपा तुलसीपुरले जनाएको छ ।

यस्तै बैठकले स्थानीय पालिकामा ज्ञापनपत्र बुझाउने , वैज्ञानिक समाजवादका अवधारणाहरु जनतामा व्यापक प्रचारप्रसार गर्ने , राष्ट्रघाती एमसिसी विरुद्ध संघर्ष गर्ने , राज्यलाइ कर नतिर्ने एनसेलको सिम र रिचार्ज कार्ड बिक्रीवितरण कार्य बन्द गर्न क्रियात्मक कार्यक्रम गर्ने लगाएतका निर्णय गरेको छ ।

नेकपा तुलसीपुर उपमहानगर कमिटीको प्रथम बैठकले फागुन १ गते बिबिध कार्यक्रमको आयोजना गरि जनयुद्ध दिवस मनाउने , सहिद सप्ताहमा सहिद परिवार अभिनन्दन कार्यक्रम गर्ने , सहिद परिवार , वेपत्ता परिवार र घाइते योद्धाहरुसंग भेटघाट गर्ने लगाएतका महत्वपूर्ण निर्णय समेत गरेको छ ।

नेकपाका पोलिटब्युरो सदस्य शितल सीको प्रमुख आतिथ्यमा बसेको बैठकमा नेकपाका केन्द्रिय सदस्य तथा पश्चिम दाङका इन्चार्ज प्रदिप सी , नेकपा पश्चिम दाङका सेक्रेटरी निर्मल सी , नेकपा बबई गाउँकमिटीका इन्चार्ज उज्ज्वल सी , नेकपा शान्तिनगर गाउँकमिटीका सेक्रेटरी प्रेम सी , सहिद वेपत्ता परिवार समाजका केन्द्रीय सदस्य धर्ती , नेकपा तुलसीपुर उपमहानगरका इन्चार्ज भुवन सी , अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघका केन्द्रीय सदस्य एवम कर्णाली प्रदेश कमिटी इन्चार्ज संजय सी , जनपत्रकार संगठन नेपालका केन्द्रीय सदस्य हेमन्त प्रकाश सी , युवा संगठन नेपालका जिल्ला अध्यक्ष शुदर्शन सीको आतिथ्य रहेको थियो ।

नेकपा तुलसीपुर उपमहानगर कमिटीका सेक्रेटरी शिव सीको अध्यक्षता तथा संचालनमा बैठक सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार