`किसान र कृषिप्रतिको मनोविज्ञान बदल्नुपर्छ´- राप्ती ब्युरो इन्चार्ज सविन

डेली न्युजराप्ती       २३ चैत्र २०७९ २२:५२ मा प्रकाशित     163 No Comments

घोराही / नेपाल कम्युनिस्ट पार्टी केन्द्रीय सदस्य तथा राप्ती ब्यूरोका इन्चार्ज सविन सीले देशलाई आत्मनिर्भर बनाउने पेशा कृषि भएको भन्दै किसान र कृषिप्रतिको मनोविज्ञान बदल्नुपर्ने बताएका छन् । बिहीबार घोराहीमा आयोजित अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी) पूर्वी र पश्चिम दाङको संयुक्त विस्तारित बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् ।

बैठकका प्रमुख अतिथि समेत रहेका इन्चार्ज सविनले युवालाई नेपालको कृषिमा विश्वास नभएपछि युवा विदेश पलायन भएको कुरामा जोड दिँदै किसानप्रतिको मनोविज्ञान बदल्नुपर्ने कुरामा जोड दिँदै आफ्नो पार्टीले किसानलाई हेर्ने दृष्टिकोण बदल्ने उद्घोष गरे । दालल राज्यसत्ताले कृषिलाई वेवास्ता गरी परनिर्भरतामुखी बनाएको र कृषिमा देश आत्मनिर्भर भएमात्र विकासको सम्भव भएको हुँदा उनले आफ्नो पार्टीले उत्पादनको नीतिलाई अगाडि ल्याएको बताए ।

किसान संगठनले कृषि क्षेत्रमा लिएर अवधारणा पार्टीको नीतिसँग मेल खाएको र पार्टी त्यो अभ्यासमा भएको हुँदा किसान र कृषिप्रति संगठन र पार्टीको बुझाइ फेरिनुपर्ने भन्दै अहिले कृषिमा व्यवसायीकरण गरिरहेका कृषकलाई संगठनमा जोड्नुपर्ने नेता सविनको भनाइ छ ।

नेपालका ६० प्रतिशत मानिस कृषिमा आश्रीत भएको भएतापनि किसानहरु अझै आत्मनिर्भर बन्न नसकेको भन्दै संगठनले किसान तथा कृषकका समस्या एकीकृत गर्दै संघर्ष संचालन गर्नुपर्ने र प्रत्यक्ष जनतासँग नजिक हुनुपर्ने कुरामा उनको जोड थियो ।

बैठकमा नेता सविनले नेपालको दलाल पूँजीवादी व्यवस्था संकटमा गुज्रिरहेको हुँदा यो व्यवस्थाको विकल्पमा वैज्ञानिक समाजवादी व्यवस्था स्थापना गर्नुपर्ने र त्यसका लागि पार्टीको एकीकृत जनक्रान्तिमार्फत सबै शक्ति राज्यकोविरुद्ध उत्रिनुपर्नेमा बताए ।

अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी) केन्द्रीय संयोजक कालीबहादुर सीले पश्चिम महाकालीबाट किसान जागरणको उद्घाटन गरेको भन्दै यो देशमा धरापमा परेको कृषि क्षेत्रलाई कसरी माथी उठाउने भन्ने अभियानको मुख्य उद्देश्य रहेको बताए । यो दलाल राज्य व्यवस्थाले कृषि क्षेत्रलाई वेवास्था गरेको भन्दै उनले अब कृषि क्षेत्रलाई आत्मसात गर्दै उत्पादनमा वृद्धि गरेर देशलाई आत्मनिर्भर बनाउनुपर्ने कुरा जोड दिए ।

यो देशमा १ करोड ९६ हजार कृषक रहेकोे र कृषिमा आत्मनिर्भर बनानुपर्ने भन्दै त्यसमा हिजोको जस्तो परम्परागत खेती प्रणालीलाई छोडेर अब वैज्ञानिकमुखी कृषि प्रणालीलाई प्रयोग गरेर उत्पादनमा वृद्धि गर्दै देशलाई आत्मनिर्भर बनाउनुपर्ने उनको धारणा छ ।

पार्टीको अवधारणा अनुसार संगठनले कृषिमा ३ आधार अगाडि सारेको छ । जसमा निर्बाहमुखी उत्पादन, एकीकृत र निजी उत्पादन, एक दिन काम गर एक लाख कमाऔं भन्ने आधार रहेका छन् । यी तीन आधारलाई पार्टीको दृष्टिकोण र विचारबाट अगाडि बढाएर देशमा कृषिलाई आत्मनिर्भर बनाउदै यो दलाल राज्य व्यवस्थाको विकल्पमा वैज्ञानिक समाजवादी व्यवस्था स्थापना गर्नका लागि कृषि क्षेत्रको अहम भूमिका रहने उनको भनाइ रहेको थियो ।

त्यस्तै उक्त बैठकले संगठनको पूर्वी दाङमा पन्चराम सीको संयोजकत्वमा १३ सदस्यीय सम्मेलन आयोजक जिल्ला समिति गठन गरेको छ, भने संगठनको पश्चिम दाङमा खिमबहादुर रावतको संयोजकमा १३ सदस्यीय सम्मेलन आयोजक जिल्ला समिति गठन गरेको छ ।

अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी) दाङ जिल्ला अध्यक्ष पन्चराम सीको अध्यक्षतामा भएको कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य तथा पूर्वी दाङ जिल्ला इन्चार्ज सम्झना सी, पार्टीका केन्द्रीय सदस्य तथा युवा संगठन नेपालका अध्यक्ष पाटन सी, पार्टीका राप्ती ब्यूरो कार्यालय सचिव विकास सी, पार्टी पूर्वी दाङका सेक्रेटरी जनक सी लगायतका पार्टी नेता जनवर्गीय संगठनका संयोजक/ अध्यक्षको सहभागिता रहेको थियो । बैठकको संचालन विष्णु सीले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार