युवा संगठन नेपालद्वारा एकैदिन देशभरका लघुवित्तिय संस्थाहरुमाथि आक्रामक कारवाही!

डेली न्युजराप्ती       १० असार २०८० १८:४० मा प्रकाशित     395 No Comments

हेमन्त प्रकाश ओली ।
असार १० , दाङ । विप्लव नेतृत्वको नेकपाको सहायक संगठन युवा संगठन नेपालले एकैदिन देशैभरिका लघुवित्तिय संस्थाहरुमाथी कारवाही गरेको छ ।
संगठनको केन्द्रीय कार्यक्रम अनुसार आज आइतबार देशभरका लघुवित्तिय संस्थाहरु माथी कारवाही गरिएको संगठनले जनाएको छ ।

संगठनले पुर्वको झापादेखी पश्चिम कर्णालीसम्मका लघुवित्तिय संस्थाहरुमाथी तालाबन्दी गर्नुकासाथै संस्थाका साइनबोर्डहरु जलाएको हो ।

एकैदिन देशभरिका लघुवित्तिय संस्थाहरुमाथी युद्धकालिन फौजी शैलिमा आक्रामक कारवाही उत्रीएपछी धेरैले विप्लव निकट युवा संगठन नेपालले अबको संघर्षको निसाना लघुवित्त र मिटरव्याजीहरुलाइ बनाएको अनुमान गर्न थालेका छन् ।
यता शनिवार नेकपाले झापाका मिटरव्याजी नवराज विमली र भैरहवा सिद्धार्थनगर नगरपालिका वडा नं. ५ मिलनचोक निवासी मिटरब्याजी रमानन्द बानियाँको घर पार्टीद्वारा नियन्त्रणमा लिइएको घोषणा गरेको थियो ।

आज आइतबार युवा संगठन नेपालले केन्द्रीय कार्यक्रम अन्तर्गत झापाको दमकस्थित जीवन बिकास नामक लघुबित्त विरुद्ध जनताको सहभागितासहित कारवाही गरिएको जनाएको छ ।
लघुवित्तमाथी कार्वाही गरिएको जानकारी गराउदै सो पार्टीका मेची व्युरो इन्चार्ज सुमनसिंहले जनतालाइ अत्याधिक सताउन थालेपछि कारवाही गरिएको बताएका छन् । उनले फेसबुकमा लेखेका छन् -‘हामी फेरि पनि भन्न चाहान्छौं- राज्यले जनताको समस्या बुझोस र उपयुक्त निकास सहित जनतालाई बाच्ने वातावरण बनाओस । हामी राज्य संग सहकार्य गर्न तयार छौं । अन्यथा, समाज गम्भीर भिडन्तमा जान सक्छ । बेलैमा चेत खुलोस सबैको।’

यता प्युठानमा पनि युवा संगठन नेपालले जिल्लामा लघुबित्तहरुको ज्यादती विरुद्ध आइतबार चकचके स्थित स्वाबलम्बन र उन्नती लघुबित्तमा तालाबन्दी गर्नुको साथै साइनवोर्डमा आगलागी गरेको छ । लघुवित्तको कारवाहीमा सहभागी युवाहरुले हरेकखाले विकृति , विसंगति , भ्रष्टाचार कमिसन र अन्याय-अत्याचारको बिरुद्ध जनतासंगै सधै संगै रहेर अघि बढ्ने घोषणा गरेका छन् ।

यस्तै आजै दाङको तुलसीपुरमा रहेको ग्रामीण विकास लघुवित्त वित्तीय संस्था लिमिटेडमा युवा संगठन नेपाल पश्चिम दाङ जिल्ला समितिले बिज्ञप्ति जारी गर्दै तालाबन्दी गरिएको जनाएको छ । संगठनका राप्ती ब्युरो इन्चार्ज जिवनी सीद्वारा जारी प्रेस बिज्ञप्तिमा ग्रामीण क्षेत्रमा बसोबास गर्ने महिलाहरुलाई विभिन्न लोभलालचमा समूह बनाई आर्थिक शोषण गर्ने गरेकाले , बिविध कारणले ॠण लिएका महिलाहरुले ॠण चुक्ता गर्न नसकेमा उक्त समुहमा रहेका अन्य महिलाहरुले उसको ॠण चुक्ता गरिदिनुपर्ने , उनिहरुको मासिक बचत समेत फिर्ता नदिने गरेकाले , ॠण चुक्ता गर्न नसकेका महिलाहरुलाई तनाव दिदै विभिन्न गाली गालीगलौज गर्ने ,अपशब्द प्रयोग गर्ने , उनिहरुको घरमा ताला लगाउने घरबारबिहिन बनाउने , डीप्रेसनदेखि आत्महत्यासम्म गर्न बाध्य बनाउने गरेकाले र सेवा शुल्क अधिकतम असुल गर्ने तथा अत्याधिक ब्याज असुल गर्ने गरेकाले लघुवित्त संस्थामाथी तालाबन्दी गर्नुपरेको संगठनले जारी गरेको बिज्ञप्ति मार्फत स्पष्ट पारेको छ ।

लघुवित्तमाथी किन कार्वाही गर्नुभएको भनेर डेलिन्युजराप्तिको प्रश्नमा संगठनका ब्युरो इन्चार्ज जिवनी सीले लघुवित्त महिलाहरुमाथी आर्थिक रुपमा चरम शोषण गर्नेदेखी लिएर आत्महत्यासम्म बाध्य पार्ने खालका गतिविधि दिनानुदिन बढिरहेका बेला सांकेतिक रुपले कारवाही गरिएको बताइन् । उनले यो सांकेतिक कारवाहीपछि सबै ठगी धन्दामा लागेका लघुवित्त लगाएतका वित्तीय संस्थाहरु नसच्चिए सबै लघुवित्तमाथी निर्मम संघर्ष गरिने समेत बताइन् । उनले भनिन् – ‘हामी नबुझेर कार्वाही गरेका होइनौं , हाम्रो संगठनलाई सयौं उजुरी परेका छन यस्ता लघुवित्तीय संस्थाहरुका त्यसैले यो सांकेतिक कारवाही हो , सच्चिन आग्रह गरेका छौँ । अझैपनी मनोमानी गरे हामी पिडितलाइ साथमा लिएर संघर्षलाई चर्काउछौँ ।’

लघुबित्तहरुको ज्यादती बिरुद्व युवा संगठन नेपाल, रुकुम पश्चिमले पनि आजै रुकुम पश्चिम आठबिसकोट नगरपालिका ग्लोबल lME लघुबित्त वित्तीय संस्थाको शाखा कार्यलयमा तालाबन्दी गर्नुको साथै साइनवोर्ड पनि हटाएको छ ।

यस्तै संगठनले कर्णालीका थुप्रै जिल्ला , राप्तीका सबै जिल्ला , सेती-महाकाली , पुर्वका जिल्लाहरु लगाएत ७ वटै प्रदेशका अधिकांश जिल्लामा आइतबार नै लघुवित्तिय संस्थाहरुमाथी कारवाही गरिएको संगठनका केन्द्रीय महासचिव तिलक सीले डेलिन्युजराप्तिलाइ जानकारी दिनुभएको छ ।

यसैबिच हामिले विप्लव निकट युवा संगठन नेपालका केन्द्रीय अध्यक्ष पाटन सीसंग यस विषयमा छोटो फोन संवाद गरेका छौँ । संवादको पूरा अंश यसप्रकारको छ:-

— तपाईहरुले देशैभरी रहेका लघुबित्तहरुमा तालाबन्दी गरिरहनु भएको छ , खास के कति कारणले यस्ता कारवाहीहरु चलाइरहनु भएको छ ?
:-पहिलो बुझ्नुपर्ने कुरा के छ भने हाम्रो संगठन देशका सम्पूर्ण नागरिकहरुको तमाम प्रकारका समस्याहरु संग हातेमालो गर्दै आइरहेको छ । पछिल्लो चरण हाम्रा किसान, मजदुर, महिला वा गरिखाने बर्गहरुलाई लघुबित्त र मिटरब्याजिहरुले नियम विपरित, मानवता विपरीत र उनिहरु आफैले कबुल गरेका सम्झौताहरु विपरीत, हतोत्साहित गर्दै आइरहेका छन । यति मात्रै होइन आज गाउँका महिला दिदिबहिनिहरु, किसानहरु घरबार बिहिन बनिरहेका छन । कतिपय किसानहरु आत्महत्या गरिरहेका छन, हजारौंको संख्यामा पिडितहरु डिप्रेसनको सिकार बनिरहेका छन् । यसो किन भयो त? ॠणिले जति तिर्दा पनि ॠण किन चुक्ता हुदैन? यो गम्भीर बिषय छ । यसो किन हुन्छ भने लघुबित्त र मिटरब्याजिहरुले राज्यको नियमको सामान्य रुपमा पनि पालना गरेको पाइदैन । ॠण दिदा पूरा गर्नुपर्ने नियमहरु, नियमानुसार ब्याजदर लिएको पाइदैन, नियमबिपरित ब्याजलाई मुल धनमा बदली पुन ब्याज लिने गरिरहेका छन, ॠण प्रवाह गर्दा चर्को कमिसन लिने गरिरहेका छन्। बरु नियम बिपरित ॠण प्रबाह गर्ने, नियम बिपरित ब्याज असुल गर्ने, चर्को जरिवाना लिनुका साथै नियमा पूरा नगरी ॠणिहरुलाई डर, धम्की, त्रास, देखाउने र पिडितहरुको सम्पती हड्पने कार्य भईरहेको छ । त्यसैले हाम्रो संगठनले राज्यको ध्यानाकर्षण गर्न र लघुबित्त र मिटरब्याजिहरुको ज्यादतीलाई नियन्त्रण गरि पिडितहरुलाई न्याय दिलाउन यो दवाबमुलक कार्यक्रम गरिरहेका छौं ।

–तपाईहरुको संगठनले भने जस्तो लघुबित्त र मिटरब्याजिहरुलाई राज्यले नियन्त्रण वा कार्बाहिको दायरामा ल्याएन भने के गर्नु हुन्छ ?

:-हाम्रो यो प्रारम्भिक संघर्ष मात्र हो, हामी राज्यलाई पनि सचेत गराईरहेका छौं र लघुबित्त र मिटरब्याजिहरुलाई पनि सचेत गराइरहेका छौं । यदि जनतालाई उचित न्याय दिएन भने लघुबित्त र मिटरब्याजिहरुको आतंक रोकिएन भने हाम्रो संगठन जनताको साथमा संधै रहने छ । तसर्थ: जनताको न्यायको लागि चरणबद्ध जनआन्दोलन, जनसंघर्षहरु हुने छन र त्यसको नेतृत्व हाम्रो संगठनले गर्ने छ । एउटा महत्त्वपूर्ण कुरा के हो भने यदि राज्यले चाहाने हो भने यी समस्याहरुलाई नियन्त्रण गर्न सक्दछ तर राज्यले चाहादैँन किनकि यी तमाम समस्याहरुको संरक्षक स्वयम् राज्य नै छ ।

–धन्यवाद हजुरलाइ । अन्त्यमा केही अरु थप भन्नुहुन्छ?
:-धन्यवाद हजुर अनि हजुरको मिडियालाइ। हामी जनताको बिचमा बसेर जनताको लागि संघर्ष गर्दैछौं त्यसका लागि तपाइँहरुको सञ्चारमाध्यमबाट सबै सञ्चारकर्मीहरुलाइ ऐक्यबद्धताका लागि अपिल गर्दछौं ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार