समाजवादी मोर्चालाई हेर्ने तिन कोण: भरत सी

डेली न्युजराप्ती       १४ असार २०८० ०७:५२ मा प्रकाशित     210 No Comments

समाजवादी मोर्चा घोषणा लगत्तै दक्षिण र वाम कोणबाट यसको आलोचना सुरु भएको छ। यसको प्रभावकारी कार्यान्वयन तथा सफल भविष्यप्रति आशंका व्यक्त गरिएको छ। त्यसैले मोर्चालाई हेर्ने सही र गलत कोणबारे चर्चा गरौं।

सैद्धान्तिक कोण:
समाजवादी मोर्चालाई विचारशून्य, राजनैतिक आदर्श, मूल्य-मान्यताविहीन असैद्धान्तिक मोर्चाको रूपमा लिंदै ‘अर्थ न वर्थ, व्यर्थको मोर्चा’ को रूपमा दक्षिण र ‘महापतनको दोस्रो संस्करण’ को रूपमा वाम कोणबाट आलोचना गरिएको छ। यसलाई फगत शक्ति, सरकार, पद र नाफा आर्जनको मोर्चाको रूपमा विश्लेषण गरिएको छ।

यो व्यवस्था मान्ने र नमान्नेको मोर्चा बन्नु, जनता समाजवादी पार्टी (जसपा) सहभागी हुनु र नेपाल समाजवादी पार्टी (नेसपा) नहुनुलाई आधार बनाई उपरोक्त विश्लेषण गरिएको बुझ्न कठिन छैन। तर सत्य यो हो कि समाजवादी मोर्चाको ‘सातबुँदे प्रस्तावना र नीति तथा उद्देश्य’ले त असैद्धान्तिक र विचारशून्य बन्दै केवल शक्ति र नाफा आर्जनमा केन्द्रित वर्तमान राजनीतिलाई विचार, सिद्धान्त, राजनैतिक मूल्य-मान्यता र आदर्श केन्द्रित गरेको छ।

यसले वर्तमानमा ‘वित्तीय एकाधिकार र दलाल पूँजीवादी शोषण’ लाई समस्याको रूपमा लिंदै त्यसको अन्त्य गरी ‘नेपाली विशेषताको समाजवादको निर्माण र कार्यान्वयनको आवश्यकता’ माथि जोड दिएको छ।

त्यसैले तत्काल समाधान गर्नुपर्ने देश र जनताको साझा समस्यालाई सामूहिक रूपमा हल गर्ने संयुक्त मोर्चाको सैद्धान्तिकीमा गठित मोर्चा हो भने यो कसरी असैद्धान्तिक भयो?

अतीतमुखी निराशाको कोण:
विगतमा हरेक राजनैतिक आन्दोलन, क्रान्ति र परिवर्तनहरूमा निश्चित समयपछि प्रायः निराशा पैदा हुने गरेको छ। जुन पछिल्लो संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थामा पनि जारी रह्यो यसले राजनीति र नेतृत्वप्रति नै वितृष्णा पैदा गरेको छ। तर यसको अर्थ परिवर्तनको धार उल्टो बग्छ र यसबाट फाइदा लिंदै देश कुनै शक्तिकेन्द्रको उपनिवेश बन्छ, अनि त्यो नेपाली जनताले सहर्ष स्वीकार गर्नेछन् भन्ने होइन।

बरु, परिवर्तनको प्रक्रियामा पश्चगामी र अग्रगामी धारको द्वन्द्वमा प्रायः जनताले अग्रगामी परिवर्तनलाई साथ दिंदै आएका छन्। त्यसैले समाजवादी मोर्चालाई अतीतमुखी निराशाको अज्ञानता र थकानसूचक कोणबाट हेरेपछि नकारात्मक र निराशाजनक प्रतिक्रिया आउनु स्वाभाविकै हो।

तर यो भविष्यउन्मुख मोर्चा हो जसले शान्ति प्रक्रिया, राजनैतिक परिवर्तन र सामाजिक रुपान्तरणको अभियानलाई पूर्णता दिनेछ।

अराजक विध्वंसात्मक कोण:
अराजकतावादको एक सिद्धान्तकार मिखाइल ए. बाकुनिनले भन्थे, ‘केन्द्र -माथिबाट गरिने हरेक आदेशहरु अस्वीकार गर चाहे ती तिम्रो हितमा किन नहोस्।’ यो भनाइ आजको नेपालमा ‘सबैको विरोध गर चाहे त्यहाँ राम्रो नै किन नहोस्’ को रूपमा प्रयोग भइरहेको छ। अराजकताको आधार आत्मकेन्द्रित व्यक्तिवाद हो। जो आज समाजमा विध्वंसात्मक भूमिका सहित क्रियाशील रहेको छ। यो कोण र प्रवृत्तिले समाजवादी मोर्चालाई पनि विध्वंस गर्न लागेको प्रतीत हुन्छ। यसले मोर्चालाई अतिवादी कोणबाट हेर्छ।

यो एकातिर केही होइन भन्छ भने अर्कोतिर पार्टी एकता जस्तै बुझेर प्रतिक्रिया गर्छ। कोही कसैसँग आत्मसमर्पण गरेको वा आफ्नो मान्यताबाट विचलित भएको ठान्छ। मोर्चाको साझा बुझाइ, अग्रगामी उद्देश्य र एकताबद्ध हुने प्रतिबद्धता केही नदेखी केवल एकले अर्कोलाई झुक्याउने चालको रूपमा व्याख्या गर्दछ।

यसले ७ बुँदे मोर्चाको लिखत (प्रस्तावना, नीति उद्देश्य) का सकारात्मक होइन नकारात्मक र अपूर्ण कुरा मात्रै देखाएर सकारात्मक र क्रान्तिकारी पक्षलाई पूरै ओझेलमा पार्छ। यो प्रवृत्तिले राम्रो हुन नदिएर अन्ततः फाँसीवादको आधारभूमि तयार गर्दछ। जसबाट यो मोर्चा जोगाएर अगाडि बढाउन आवश्यक छ।

समाजवादी मोर्चाको गठन र घोषणा नेपाली राजनीतिमा नयाँ प्रयोग हो। यसको दीर्घकालीन र क्रान्तिकारी महत्त्व छ। यसको मूल पक्ष रुपान्तरणकारी रहेको छ। यो मोर्चा पुरानो सत्ता र नेतृत्वको संकटको परिणाम र नेताहरूको आत्मसमीक्षा, रुपान्तरण र नयाँ प्रतिबद्धताको उपज हो।

यदि नेताहरूको यो पक्ष कमजोर भयो भने मोर्चा असफल हुन पनि सक्छ तर यो अग्रगामी परिवर्तन पक्षधर सबैलाई एकताबद्ध गर्ने अभियानको थालनी हो, ढिलोचाँडो भविष्यमा सार्थक बन्नेछ।

किनभने पुष्पलालले अगाडि सारेको संयुक्त मोर्चाको नीति उनको मृत्युपछि २०४६ मा सार्थक भयो। अहिले यो मोर्चाले नेपाली विशेषताको समाजवादको अभ्यास गर्नलाई आवश्यक सबै कदम चाल्ने गरी जनता विशेषत: नयाँ पिंढीलाई सम्बोधन गर्नेछ भनेर आशावादी हुनुपर्छ । जुन समाजवादका लागि मात्रै होइन, वर्तमान पूँजीवादद्वारा सिर्जित समस्याको सही समाधान दिनेछ ।

(लेखक नेपाल कम्युनिष्ट पार्टीका स्थायी कमिटी सदस्य हुन्।)

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार