नेपालमा बढ्दै गएको चिनियाँ चासोका कारणहरु

डेली न्युजराप्ती       १५ श्रावण २०८० १६:०९ मा प्रकाशित     106 No Comments

डा. केशव देवकोटा
नेपालमा छिमेकी मुलुक चीनको चासो बढ्दै गएको देखिएको छ । यसै क्रममा गतसाता चिनियाँ कम्युनिष्ट पार्टीका पोलिटब्यूरो सदस्य युआन च्या च्युन नेतृत्वको प्रतिनिधिमण्डल नेपालको तीन दिने भ्रमणका लागि यहाँ आएको थियो । सो प्रतिनिधिमण्डलले नेपालका विभिन्न पार्टीका नेताहरुका साथै राष्ट्रपति, रक्षामन्त्री र गृहमन्त्री, नेकांका सभापति र एमालेका अध्यक्षलगायतसँग भेट गरेको थियो । सो प्रतिनिधि मण्डललले त्यतिबेला इटली भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहालसँग समेत नेपालबाटै भर्चुअल सम्वाद ग¥यो । चिनियाँ प्रतिनिधि मण्डलको चासो मुख्यत सुरक्षा र आपूmसँग नेपालले गरेका सन्धि, संझौता र सहमतिको कार्यान्वनसँग सम्बन्धित रहेको थियो । चिनियाँ नेता युआनले सबैसँगको वार्तामा चीनका राष्ट्रपति सि जिन पिङले ०७६ साल (सन् २०१९) को असोज २५–२६ मा गर्नुभएको नेपाल भ्रमणका सन्दर्भमा भएको सहमति र संझौताको कार्यान्वयनमा जोड दिनुभएको थियो । सि जिन पिङ भन्दा २३ वर्ष अघि सन् १९९६ मा तत्कालीन चिनियाँ राष्ट्रपति जियाङ जेमिनले नेपालको दुईदिने भ्रमण गर्नुभएको थियो । त्यसैले पनि सिको भ्रमणलाई त्यतिबेला नेपालले बिशेष महत्वका साथ लिएको थियो । चीनका राष्ट्रपति सीको नेपाल भ्रमणका क्रममा त्यतिबेला दुई देशबीच १८ समझ्दारी पत्र र दुईवटा लेटर अफ एक्सचेञ्जमा काठमाडौँको होटल सोल्टीमा आयोजित विशेष समारोहमा हस्ताक्षर भएको थियो । राष्ट्रपति सी र नेपालका तत्कालीन प्रधानमन्त्री केपी ओलीको उपस्थितिमा नेपाल चीनबीच उक्त हस्ताक्षर भएको हो । समझदारीपत्र एक अर्काबीच आदान–प्रदान पनि गरिएको थियो । जसमा नेपाल सरकार र जनवादी गणतन्त्र चीनबीच सीमा व्यवस्थापन प्रणालीबारे सम्झौता, नेपाल सरकार र जनवादी गणतन्त्र चीनबीच प्रशासनिक क्षमता वृद्धिका लागि सहकार्य आदान–प्रदान गर्ने समझदारी (एमओयू), नेपाल र चीनबीच आपराधिक मामिलामा दुई पक्षीय कानूनी सहायताको सन्धि, नेपाल र चीनबीच सगरमाथा (चोमोलोङ्मा)को संरक्षणमा सहकार्य गर्ने समझदारी, लगानीका मुख्य परियोजनालाई प्रवद्र्धन गर्ने र नेपालको राष्ट्रिय योजना आयोग र चीनको राष्ट्रिय विकास तथा पुनर्संरचना आयोगबीच उत्पादक क्षमता वृद्धिमा सहकार्य गर्ने समझदारी, चीनको छेन्दुमा नेपालको कन्सुलेट जनरल (वाणिज्य दूतावास) स्थापना गर्नेसम्बन्धी सम्झौतापत्र आदान–प्रदान, नेपाल–चीन सीमापार रेलमार्ग परियोजनाको सम्भाव्यता अध्ययनका लागि नेपालको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र चीनको यातायात मन्त्रालयबीच समझदारी र काठमाडौँ महानगरपालिका र चीनको नाञ्जिङ शहरबीच भगिनी सम्बन्ध स्थापना गर्ने सम्झौता भएको थियो ।

त्यसैगरी नेपाल र चीनबीच बुटवल उपमहानगरपालिका र चीनको जियान शहरबीच भगिनी सम्बन्ध स्थापना गर्ने सम्झौता, परम्परागत औषधिमा सहकार्य गर्न नेपालको स्वास्थ्य र जनसंख्या मन्त्रालय तथा चीनको नेशनल एडमिनिष्ट्रेसन अफ ट्रेडिसनल चाइनिज मेडिसिनबीच समझदारी, नेपालको गृह मन्त्रालय र चीनको आकस्मिक व्यवस्थापन मन्त्रालयबीच विपद् जोखिम न्यूनीकरण तथा आकस्मिक सेवामा सहकार्य गर्ने समझदारी, चीनको सुप्रिम पिपुल्स प्रोसिक्युटर कार्यालय र नेपालको महान्यायाधिवक्ताको कार्यालयबीच सहकार्य गर्ने समझदारी, नेपालको त्रिभुवन विश्वविद्यालय र चीनको कन्फ्युसियस इन्ष्टिच्युट हेडक्वार्टर्सबीच त्रिभुवन विश्वविद्यालयमा कन्फ्युसियस इन्ष्टिच्युट स्थापना गर्ने सम्झौता, नेपालको कृषि विभाग र चीनको भन्सार सामान्य प्रशासनबीच साइट्रस (अमिलो स्वादका) फलपूmल चीन निर्यातका लागि बिरुवालाई स्वस्थ राख्नेसम्बन्धी मापदण्डको कार्यविधि निर्माण गर्ने समझदारी, नेपालको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र चीनको वाणिज्य मन्त्रालयबीच व्यापारबारे छलफल गर्न दुवै देशका प्रतिनिधि सहभागी हुने संयुक्त संयन्त्र बनाउने समझदारी, नेपालमा चीनले सहयोग गरेको भूकम्प सुपरिवेक्षण सञ्जाल परियोजनाका लागि वितरण र स्वीकृतिपत्रमा समझदारी, नेपालको अर्थ मन्त्रालय र चीनको वाणिज्य मन्त्रालयबीच लगानीमा सहकार्यका लागि दुवै देशको प्रतिनिधि सहभागी हुनेगरी कार्यदल स्थापना गर्ने समझदारी र नेपालको अर्थ मन्त्रालय र चीनको अन्तर्राष्ट्रिय विकास सहकार्य संस्थाबीच सुरुङ निर्माणमा सहकार्य गर्ने समझदारी भएको थियो । त्यसैगरी नेपाल–चीन सीमा सुरक्षा सामग्री र कार्यालय सामग्रीका लागि सम्झौतापत्र आदान–प्रदान र चीनको सहयोगमा उपत्यकामा सञ्चालन हुने खानेपानी आपूर्ति सुधार परियोजनाको सम्भाव्यता अध्ययनका लागि बैठकको माइन्युटका लागि समझदारी भएका थिए ।

त्यतिबेला उक्त समझदारीले नेपाल र चीनबीचको सम्बन्धलाई अझ मजबुद बनाउने अपेक्षा पनि गरिएको थियो । ०७६ को असोज २५ गते चिनियाँ राष्ट्रपति सिले नेपालकी तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीसँग शितल निवासमा भेटवार्ता गर्नुभएको थियो । भेटवार्तामा नेपाल–चीनबीचको मैत्रीपूर्ण सम्बन्ध, आपसी हित र चासोको विषयमा छलफल हुनुका साथै आपसी सम्बन्धलाई थप मजबुत बनाउने विषयमा कुराकानी भएको थियो । त्यसै दिन साँझ होटल सोल्टीमा राष्ट्रपति सीले तत्कालीन विपक्षी दलका नेता शेरबहादुर देउवासँगसमेत भेट गरी नेपालमा जुन पार्टी सत्तामा आए पनि दुई देशबीचको सम्बन्ध स्थिर र मित्रवत रहने बताउनु भएको थियो भने चिनियाँ कम्युनिष्ट पार्टी नेपाली कांग्रेससँग सहकार्य गर्न तयार रहेको बताउनु भएको थियो । त्यतिबेला चिनियाँ राष्ट्रपति सीले नेपालसँग कुनै पनि समस्यारहित सम्बन्ध रहेको उल्लेख गर्दै नेपाल चीनबीच सुविधाजनक कनेक्टिभिटी निर्माण गर्ने, चीन–नेपाल सीमापार रेलमार्ग बन्ने, केरुङ–काठमाडौँ सुरुङमार्ग, अरनिको राजमार्ग स्तरोन्नति गर्ने, बढीभन्दा बढी नाका खोल्ने र भूपरिवेष्ठित अवस्थाबाट भूजडित देश बन्ने नेपालको सपना साकार पार्न सहयोग गर्ने, ०७२ को भूकम्पपछिको पुनर्निर्माणमा चीनले जिम्मा लिएका योजनाहरुको पुनर्निर्माणमा तीव्रता दिने प्रतिवद्धता व्यक्त गर्नुभएको थियो । त्यतिबेला सीले तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालसहित सो पार्टीका सचिवालय सदस्यहरुसँग भेटवार्ता गरी नेपाल र चीनबीचको सम्बन्ध अझ सुदृढ र सुमधुर बनाएर लैजानुपर्ने बताउँदै कम्युनिष्ट पार्टीमा स्वच्छता र सुशासन आवश्यक रहेको उपस्थित नेताहरुलाई सुझाउनु भएको थियो । त्यतिबेला नेताहरुले एक चीन नीतिमा सरकार र पार्टी प्रतिबद्ध रहेको बताएर चिनियाँ राष्ट्रपति सिलाई आश्वस्त पार्नुभएको थियो । सो भ्रमणबाट नेपाल र चीनबीच रहँदै आएको सुमधुर सम्बन्ध पुनः नवीकरण भएको ठानिएको थियो । चीनका राष्ट्रपति सीले त्यतिबेला करिव २२ घण्टा नेपालमा विताउँदा नेपाल र चीनबीचको घनिष्ट सम्बन्ध थप मजबुद बनेको ठानिएको थियो । ०७८ को असारमा तत्कालीन नेकपाको सरकार ढलेर नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वको सरकार गठन भएपछि सो सरकारले शुरुमै चीनसँगको समझदारीमा खलल पु¥याउने काम ग¥यो । तत्कालै चीनले नेपालसँगको सीमा मिचेको आरोप लगाउँदै स्थलगत छानविन थालियो ।

चीनसँग सन् २०१७ मै संझौता भएको बिआरआईलाई उपेक्षा गर्ने कामहरु भए । ०७८ को फागुनमा नेपालले अमेरिकाको विवादास्पद योजना एमसीसी संसदबाट पारित भएको नाटकीय घोषणा गरेपछि छिमेकी चीनले नेपालतर्फबाट सुरक्षा चुनौती बढेको महसुस गरेको देखिएको थियो । फलत नेपालतर्फका नाकाहरु विस्तारै सुचारु हुन छाडे । हालसम्म पनि नेपालका चीनतर्फका नाकाहरु सुचारु हुन सकिरहेका छैनन् । भन्सार विभागको पछिल्लो तथ्यांकअनुसार आब ०७९÷८० मा चीनबाट दुई खर्ब २२ अर्ब ७१ करोड ५९ लाख ३३ हजार रुपियाँको आयात भएको र नेपालबाट एक अर्ब ७६ करोड ५७ लाख ८६ हजार रुपियाँको मात्र निर्यात भएको देखिएको छ । सो अवधिमा आयात बढ्दै गएपनि निर्यात बढ्न नसक्दा छिमेकी चीनसँग दुई खर्ब २० अर्ब ९५ करोड १४ लाख व्यापार घाटा हुनपुगेको छ । हाल आएर नेपाल असंलग्न परराष्ट्र नीतिबाट क्रमशः पछि हट्दै गएको र अमेरिकालगायतका पश्चिमा राष्ट्रहरुसँग संलग्नता बढाउँदै लान लागेको भन्ने कुराहरु उठेका छन् । माओवादी केन्द्र र एमालेकै नेताहरुले यस्तो संसय ब्यक्त गरेपछि चीनले नेपाल मामिलामा बढी चासो केन्द्रित गरेको देखिएको छ । त्यसैले हालै आएको प्रतिनिधिमण्डलले राष्ट्रपति सिको २०७६ को भ्रमणका क्रममा भएका सहमतिको कार्यान्वयनमा बिशेष जोड दिएको देखिएको छ । चीनले उठाएको सुरक्षा चासोलाई नेपालले सम्बोधन गर्नैपर्ने अवस्था छ । चीनका लागि नेपालमा जुनसुकै पार्टीको सरकार भए पनि खासै फरक पर्ने गरेको छैन । पछिल्लो समयमा चीन विशुद्ध आफ्नो राष्ट्रिय सुरक्षा, विकास र सोही ढंगको आफ्नो विश्व व्यवस्था निर्माणको पक्षमा रहेको देखिन्छ । त्यसैले नेपालले पनि छिमेकीको चाहनाको सम्बोधन गर्नुका साथै सहकार्यमा जोड दिनु आजको आबश्यकता भएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार