आइसिसी टी–२० विश्वकप छनोटअन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले आज ओमानको सामना गर्दैछ । नेपाल र ओमानबीचको खेल बिहान ९ बजेदेखि कीर्तिपुरस्थित त्रिवि मैदानमा सुरु हुनेछ ।
नेपाल समूह विजेताको रूपमा सेमिफाइनल पुग्न चाहन्छ । नेपालले पहिलो खेलमा सिंगापुरलाई ८ तथा मलेसियालाई ६ विकेटले हराएको थियो । नेपाल ओमानलाई पनि हराउँदै अपराजित रहन चाहन्छ ।
ओमान पनि समूह चरणको सबै खेल जित्दै सेमिफाइनलमा पुग्ने योजनामा छ । उसले पहिलो खेलमा मलेसियालाई ३२ तथा दोस्रो खेलमा सिंगापुरलाई २२ रनले हराएको थियो । बिहीबारको खेलपछि सेमिफाइनल समीकरण पनि पूरा हुनेछ । अहिलेसम्म समूह ‘ए’ बाट नेपाल र ओमान तथा समूह ‘बी’ बाट यूएई सेमिफाइनल पुगेका छन् ।
समूह ‘बी’ बाट अब हङकङ र बहराइनमध्ये एक टिम सेमिफाइनल पुग्नेछ । यी दुईमध्ये बहराइनको सम्भावना उच्च छ किनकी उसले तेस्रो खेलमा कुवेतसँग खेल्ने तालिका छ । हङकङले भने समूह चरणको अन्तिम खेलमा लयमा देखिएको यूएईको सामना गर्नेछ । बिहीबार नेपालले ओमानलाई हराएमा सेमिफाइनलमा बहराइन र हङकङमध्ये एक टिमको सामना गर्नेछ । उक्त सेमिफाइनल खेल टियू मैदानमा हुनेछ ।
यदि ओमानसँग हार बेहोरेको खण्डमा चाहिँ नेपालले सेमिफाइनलमा यूएईलाई प्रतिस्पर्धी पाउने देखिन्छ । दोस्रो सेमिफाइनल मूलपानी क्रिकेट ग्राउन्डमा हुनेछ । त्यसकारण सेमिफाइनल पुगिसकेको नेपाललाई ओमानविरुद्धको जित पनि महत्वपूर्ण छ ।
हालसम्म नेपाल र ओमानले चार टी–२० खेलमा एकअर्काको सामना गरेका छन् । जसमा नेपालले तीन र ओमानले एक खेल जितेको विगत छ । नेपालले गत वर्ष ओमानलाई तीन टी–२० खेलमा लगातार हराएको थियो । नेपाल यसपटक पनि सो अपराजित यात्रा कायमै राख्ने रणनीतिमा छ ।
सबै किसिमका विकृतिका विरुद्ध,राष्ट्रिय स्वाधीनता,अग्रगामी परिवर्तन,सामाजिक जागरण र रुपान्तरणका पक्षमा जनचेतनाको संवाहक साथै समृद्ध समाजको संवाहक(डेली न्यूजराप्ती अनलाइन डिजिटल पत्रीका)को माध्यमबाट हामी निरन्तर डटिरहेका छौं।
©Copyright©2021-2025 शहिद महान स्मृति संचार गृह प्रा.ली.