भित्री सक्रामका प्रअ कुटिएपछि छानबिन समिति बन्यो , ५ दिनभित्र प्रतिवेदन बुझाउनुपर्ने

डेली न्युजराप्ती       १ आश्विन २०८१ २०:२७ मा प्रकाशित     65 No Comments

तुलसीपुर, १ असोज । दाङको तुलसीपुर उपमहानगरपालिका– १९ स्थित माध्यामिक विद्यालय भित्री सक्रामको घटनालाई लिएर छानबिन समिति गठन गरिएको छ । गएको शुक्रबार अभिभावकले बालबालिकालाई यौन दुर्व्यवहार गरेको भन्दै विद्यालयमै प्रवेश गरेर प्रधानाध्यापक देवीराम वलीलाई कुटपिट गरेपछि छानबिन समिति गठन भएको हो ।

नगर शिक्षा समितिका संयोजक टीकाराम खड्काको अध्यक्षतामा बसेको बैठकले सामाजिक विकास समितिका संयोजक मानबहादुर रावतको अध्यक्षतामा ४ सदस्य छानबिन समिति गठन गरेको हो ।  जसको सदस्यमा शिक्षा महाशाखा प्रमुख चक्र भण्डारी, ढक बहादुर वली र हिमा बूढा रहनुभएको छ । समितिलाई ५ दिनभित्र सत्यतथ्य छानबिन गरेर प्रतिवेदन बुझाउन निर्देशन दिइएको छ ।

प्रअ वलीलाई कक्षा ४, ५ र ६ मा अध्ययनरत छात्रालाई शरीरका विभिन्न संवेदनशील अङ्गमा हातपात गरेको आरोपमा कुटपिट गरेपछि हेमन्तपुर प्रहरी चौकीमा समेत शुक्रबार छलफल गरिएको थियो । यता विद्यालयका प्रअ वलीले योजनाबद्ध तरिकाले झुटो आरोप लगाएर गैर अभिभावक विद्यालयमा प्रवेश गरेर कुटपिट गरेको बताउनुभयो ।

‘मत विद्यालयको प्रशासक पनि हो, न्यायाधीश पनि हो शिक्षक पनि हो ।  कहिलेकाँही विद्यार्थी लडछन भिड्छन् । क्लासमा बोलाउनु पर्ने हुन्छ । फोहरी हुन्छ । टाँक लगाउन बिर्सेका हुन्छन् । हामी त अभिभावक पनि हो के । अभिभावकले सिगान फुछिदिनुपर्ने हुन्छ । टाँक फुकेको हुन्छ लगाइदिनुपर्छ । केही मान्छेले आफ्नो स्वार्थ सिद्धिका लागि गुरु जस्तो व्यक्तिलाई आरोप लगाएर जुन घटना घटाइयो यस प्रति मेरो घोर आपत्ती छ ।’ प्रअ वलीले भन्नुभयो । 

यता विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चेता घर्तीले घटना सुनेर आफू आश्चर्य चकित भएको बताउनुभयो । ‘कक्षा ४, ५ र ६ मा अध्ययनरत बालिकालाई हातपात गरेको भन्दै ३ जना अभिभावकले आरोप लगाउनु भएको छ । अभिभावकले सोध्दा बालिकाहरूले हो भन्छन् । हामीले सोध्दा होइन भन्छन् । दोषी नउम्कियोस । निर्दोष नफसोस् । सत्य तथ्य छानबिन होस ।’ अध्यक्ष घर्तीले भन्नुभयो ।   

उता तुलसीपुर उपमहानगरपालिका– १९ का वडा अध्यक्ष प्रेमनाथ याेगीले  अभिभावकहरुले छाेराछाेरीकाे सुरक्षा नभएकाे भन्दै प्रअकाे विकल्प नखाेजे विद्यार्थी स्कुल नपठाउने चेतावनी दिएकाे बताउनुभयाे ।  ‘एकातिर  प्रअ वलीले  विद्यार्थीकाे फुकेकाे टाइ लगाई दिएकाे  र गलत मनसाय आफ्नाे नभएकाे बताउनुहुन्छ  । अर्काे तर्फ अभिभावकले छाेराछाेरीकाे सुरक्षा भएन । कि प्रअलाई हटाउनुस की हामी विद्यालयमा छाेराछाेरी पढ्न पठाउँदैनाै भन्नुहुन्छ ।’ अध्यक्ष याेगीले बताउनुभयाे ।  शिक्षक वलीलाई विद्यालय व्यवस्थापन समितिले गएकाे वैशाख देखि प्रअकाे जिम्मेवारी दिएकाे थियाे ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार