महासचिव विप्लव र असन्तुष्ट नेता श्रेष्ठबीच भेटघाट

डेली न्युजराप्ती       १८ फाल्गुन २०७८ १६:५६ मा प्रकाशित     321 No Comments


काठमाडौँ : राष्ट्रघाती एमसीसीविरुद्ध आन्दोलनको नेतृत्व गरिरहेको नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव र माओवादी केन्द्रमा प्रचण्डको एमसीसी पक्षधर समूहहसँग असन्तुष्ट नेता नारायणकाजी श्रेष्ठबीच अब कसरी अघि बढ्ने भन्ने विषयमा आज बिहान छलफल भएको छ ।

श्रेष्ठ निवास हात्तीवनमा बुधबार बिहान महासचिव विप्लव र नेता श्रेष्ठबीच एमसीसी र समसामयिक राजनीतिका विषयमा छलफल भएको नेकपा केन्द्रीय कार्यालयले जनाएको छ । नेकपासहित ६ कम्युनिस्ट पार्टी÷समूह र २ मोर्चाले एमसीसीविरुद्ध आन्दोलन घोषणा गरेको र यही फागुन २० गते खुलामञ्चमा विशाल जनप्रदर्शनसहित विरोधसभा आयोजना गरिएकै समयमा महासचिव विप्लव र माओवादी केन्द्रका असन्तुष्ट नेता श्रेष्ठबीच छलफल भएको हो । माओवादी केन्द्रमा श्रेष्ठ पक्षका मानिने गिरिराजमणि पोखरेल र अन्जना बिसुंखेले प्रतिनिधिसभामा एमसीसी पारित गर्ने प्रक्रिया सुरु हुँदा विरोध गर्दै सदन नै बहिष्कार गरेका थिए । एमाले नेता भीम रावल, नेपाल मजदुर किसान पार्टी, राजमो र राप्रपाका सांसदले समेत एमसीसीको विरोध गरिरहँदा प्रचण्डले भने पक्षमा मतदान गर्न जबर्जस्ती गरेको खुलेको छ ।

माओवादी केन्द्र एमसीसीका विपक्षमा उभिएको भए पारित हुँदैनथ्यो भन्नेमा एमसीसीविरोधी सबैको एक मत छ । स्रोतका अनुसार विप्लव र श्रेष्ठबीच प्रतिनिधिसभाबाट एमसीसी अनुमोदन गर्न माओवादी केन्द्रको नेतृत्वले जबरजस्ती गरेको भन्दै राष्ट्रियताका पक्षमा रहेकाहरू एकजुट हुनुपर्ने विषयमा कुराकानी भएको नेताहरूले बताएका छन् ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल हिजो मङ्गलबार असन्तुष्ट नेता श्रेष्ठलाई फकाउन हात्तीबन पुगेका थिए । प्रचण्डले श्रेष्ठलाई एमसीसीमा देखिएको मतभेद कायमै राखेर अरू विषयमा मिलेर जाने दोग्ला प्रस्ताव गरे पनि श्रेष्ठले आफूहरूलाई दाहालले ‘निस्केर जाने भए जाओ’ भनेर सार्वजनिक रूपमै पार्टी फुटाउन दुरुत्साहन गरेको बताएका थिए ।

संसद्बाट एमसीसी पारित नगर्ने बताउँदै आएका दाहाललगायत माओवादी केन्द्रका नेताहरुले एकाएक संसद्बाट एमसीसी अनुमोदन गरेपछि त्यस दलभित्रका इमानदार र राष्ट्रवादीहरु असन्तुष्ट बनेका छन।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार