जनपत्रकार सङ्गठन नेपाल रुपन्देहीको प्रथम बैठक सम्पन्न

डेली न्युजराप्ती       १ भाद्र २०७८ १८:०७ मा प्रकाशित     463 No Comments


प्रदीप राहादी मगरको संयोजकत्वमा ९ सदस्यीय जिल्ला कमिटी निर्माण
बुटवल । जनपत्रकार सङ्गठन नेपाल रुपन्देहीको प्रथम बैठक सम्पन्न भएको छ । मङ्गलबार बुटवलमा सम्पन्न बैठकले प्रदीप राहादी मगरको संयोजकत्वमा ९ सदस्यीय जिल्ला कमिटी निर्माण गरेको छ । बैठकमा प्रमुख अतिथि तथा नेपाल कम्युनिस्ट पार्टी रुपन्देही जिल्ला सेक्रेटरी विश्वासले राज्यको संरचना, सहयोग र सुरक्षा प्राप्त गर्दै आएका नेपालका व्यवसायिक पत्रकारहरूले सबैभन्दा बढी एकाधिकार पुँजीवादको वा नेपालको दलाल पुँजीवादी राज्य सत्ताको पक्षपोषण गर्ने गरेकाले यसको भण्डाफोर गर्नुपर्ने बताए । उनले पुँजीपति वर्गको मात्र रक्षा गर्ने बुर्जुवा पत्रकारिताले लादेको मान्यतालाई निस्तेज पारि श्रमजीवी वर्गको पक्षमा कलम चलाउनुपर्ने बताए । विश्वासले नेकपाको नयाँ कार्यनीति अर्थात् संयुक्त प्रगतिशील सरकार, जनमत सङ्ग्रह र वैज्ञानिक समाजवादबारे केहि प्रतिक्रियावादीहरूले अनेक विषयसँग तुलना गरि जनतामा भ्रम सिर्जना गर्न खोजेको भन्दै सत्यतथ्य समाचार सम्प्रेषण गर्न आग्रह समेत गरे । विश्वासले एक फरक प्रसङ्गमा नेकपामाथि प्रतिबन्ध लगाउनु गलत साबित भएको भन्दै दलाल राज्यसत्ताले घुँडा टेकेको बताए । उनले सरकार नेकपासँग भएको तीन बुँदे सहमति कार्यान्वयनको विषयमा पन्छिएको भन्दै दुःख व्यक्त गरे । उनले जेल र हिरासतमा रहेका नेकपाका बन्दी नेताकार्यकर्ताहरू सरकारसँग भएको राजनीतिक सहमतिबाट भन्दा पनि कानुनी प्रक्रियाबाट रिहा भएको र रिहा हुने क्रम जारि रहेको बताए । उनले एमसीसी सम्झौता राष्ट्रघाती, जनघाती अर्थात् देश र जनताको हित विपरीत भएको भन्दै आफ्नो पार्टीले त्यसको सशक्त प्रतिकार गर्ने बताए ।अखिल नेपाल जनसांस्कृतिक महासंघका केन्द्रीय सदस्य तथा लुम्बिनी ब्युरो संयोजक खोमा तरामु मगरले दलाल प्रतिक्रियावादी राज्य सत्ताको चरित्र भण्डाफोर गर्नु जनपत्रकार सङ्गठनको पहिलो कार्य भएको बताए । उनले पत्रकारिता वर्गीय पक्षधरतामा आधारित हुने भन्दै स्वतन्त्र र निष्पक्ष नहुने बताए । मगरले समाजमा जबसम्म वर्ग सङ्घर्ष जारि रहन्छ तबसम्म पत्रकारिता पनि स्वतन्त्र नहुने बताए । उनले श्रमजीवी जनताको पक्षमा अर्थात् किसान, मजदुर, सुकुम्बासीको पक्षमा जनपत्रकारिता गर्न आग्रह गरे । उनले सङ्गठनमा आबद्ध पत्रकारहरूले समाचार, विभिन्न लेख, रचना मार्फत् नेकपाको नीति, योजना र कार्यक्रमहरूलाई जनतामा स्थापित गर्ने र त्यसको व्यापक रुपमा प्रचारप्रसार गर्नुपर्ने बताए । अखिल नेपाल जनसांस्कृतिक महासंघकी रुपन्देही जिल्ला अध्यक्ष बिहानी मगरले समाजको चरित्रअनुसार पत्रकारिताको पनि चरित्र निर्धारित हुने भन्दै बुर्जुवा समाजमा पत्रकारिता पनि बुर्जुवा हुने र समाजवादी समाजमा पत्रकारिताको चरित्र क्रान्तिकारी प्रकारको हुने बताइन् । उनले पत्रकारिताको क्षेत्रबाट वैज्ञानिक समाजवाद स्थापनाको लागि अग्रमोर्चामा रहेर डटेर सङ्घर्ष गर्नुपर्ने बताइन् । जनपत्रकार सङ्गठन नेपालका जिल्ला संयोजक प्रदीप राहादी मगरले जनपत्रकारिता अर्थात् क्रान्तिकारी पत्रकारिता बुर्जुवा पत्रकारिताले लादेको वर्ग सङ्घर्षमा भाग नलिईकन, त्यसको प्रतिवाद नगरिकन र वैचारिक, राजनीतिक, बौद्धिक र गतिशीलताको क्षेत्रबाट परास्त नगरिकन जिवित रहने नसक्ने बताए । उक्त बैठकले जिल्ला स्तरीय आधारभूत पत्रकारिता तालिम सञ्चालन गर्ने, सङ्गठनको जिल्ला भेला भदौ ११ गते गर्ने, सङ्गठनको केन्द्रीय कार्यक्रमलाई कार्यान्वयन गर्ने लगायतका अन्य विविध महत्वपूर्ण निर्णयहरू गरेको प्राप्त समाचारमा बताइएको छ । बैठक सङ्गठनका रुपन्देही जिल्ला संयोजक प्रदीप राहादी मगरको अध्यक्षता र संचालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार