विश्व आमा बुवा दिवस:आमाबुवाको सेवा गर्न सिकाउदै तुलसीपुरको सगरमाथा स्कुल

डेली न्युजराप्ती       १८ जेष्ठ २०८० २१:४२ मा प्रकाशित     617 No Comments

दाङ । तुलसीपुर उपमहानगरपालिका ९ बस्ने दिक्षा शाह सोही ठाउँमा रहेको सगरमाथा बोर्डिङ स्कुलमा कक्षा १० मा अध्ययनरत छिन् । बिहीबार विद्यालयले उनीसहित अन्य विद्यार्थीहरूलाई ‘ विश्व आमा बुवा दिवस’ का अवसरमा घोराही १६ तेरौटेमा रहेको ज्येष्ठ नागरिक सरोकार केन्द्रको अवलोकन गराएको थियो । त्यहाँको अवलोकन गर्दा उनले त्यहाँ रहेका ज्येष्ठ नागरिकहरूलाई देखेपछि निकै दुख लागेको बताइन् । उनले भनिन्,‘ सन्तानको भविष्यको लागि अभिभावहरूलाई धेरै दुखकष्ट गर्नुभएको हुन्छ । तर, बुढेसकालमा सन्तानहरूले बेवास्ता गर्दा यसरी यहाँ आएर बस्न बाध्य हुनु भएको छ । यसबाट मलाई अभिभावक भन्दा ठुलो केही नभएको महसुस भएको छ ।’

यसरी आफूलाई जन्मदिएका अभिभावकहरूलाई वेवास्ता गरेर आफू मात्रै सुखमा रमाउनुको कुनै औचित्य नभएको समेत उनको भनाइ छ । उनले भनिन्,‘ हामीले यहाँ बस्नु भएका सबैसँग कुरा गर्दै जादा कोहीका सन्तानहरू यही भएको र कोहीका बाहिर भएका भन्ने जानकारी पायौँ । तर, यही भएका सन्तानहरू कहिलेकाहीँ भेट गर्न आउनु हुन्छ रे ? भगवान रूपी आमा बटुवाहरूलाई यही बेसहारा बनाएर पैसा मात्र कमाउने कुरा ठिक लागेन । यहाँ आएर हामीलाई धेरै कुराको ज्ञान प्राप्त भयो ।’
यस्तै उनले पैसाका लागि सन्तानहरू बाहिर जादा धेरै आमा बुबाहरू यस्तै अवस्थामा रहेको भन्दै आमा बुवा भन्दा ठुलो पैसा नहुने समेत बताइन् । उनले भनिन्,‘ मैले पनि भविष्यमा यस्तो काम गर्दिनन् । आज मलाई धेरै कुराको सिकाइ भएको छ । पैसा मेहेनत गरेर कमाउन सकिन्छ, तर, आमा बुवा चाहेर पनि पाइदैन् । त्यसैले अब हामीले यसतर्फ सोच्न जरुरी रहेको छ । आज हाम्रो विद्यालयले हामीलाई धेरै कुरा सिक्ने मौका दिएको छ । हामीलाई किताबी ज्ञान भन्दा पनि हाम्रो समाजिक, धार्मिक लगायतको ज्ञानहरू पनि दिन जरुरी छ । अहिले तेरौटेमा ८ जना पुरुष र ९ जना महिला गरी १७ जना ज्येष्ठ नागरिकहरू रहेका छन् ।

यता विद्यालयले भने ‘ विश्व भरका आमा बुबा दिवस’ सबै विद्यार्थीहरूले आफ्ना आमा बुबाको कदर गरुन्, भन्ने उद्देश्यका एक कार्यक्रम गरी मनाएको जनाएको छ । विद्यालयमा आयोजित कार्यक्रममा विद्यार्थीहरू आफूहरूलाई जन्मदिने बाउआमाहरू सधैँ भरि गरि सम्मान, माया गर्ने समेत बताएका थिए । उनीहरूले कार्यक्रममा उपस्थित आफ्ना बा– आमालाई आजको आफ्नो खाजा समेत खुवाएका थिए । यसरी आफ्नो छोराछोरीले विद्यालयमा बोलाएर माया गरेपछि अभिभावकहरू भावुक समेत बनेको थिए । आँशुले टिलपिल भएको आँखा पुच्छदैँ अभिभावक रूपा वलीले भनिन्, “सधैँ यस्तै व्यवहार छोराछोरीले गरुन्, भन्ने आशा छ । घरमा पनि सहयोग गर्छन्, तर आज स्कुलले सिकाए जस्तै सधैँ गरिदिए हुन्थ्यो भन्ने लाग्छ । छोराछोरीको माया स्कुलको कार्यक्रम मार्फत महसुस गर्न पाउँदा खुसी लागेको छ । ’ यस्तै अर्की अभिभावक गीता कँडेलले यस्ता खालका कार्यक्रमले अभिभावकहरूलाई वृद्धाश्रम जानबाट रोक्न सक्ने बताइन् । उनले भनिन्,‘ “अहिलेका छोराछोरी दायित्व भुलेर मात्र आमाबुवालाई आश्रम छाडेका छैनन् । हातमुख जोड्न विदेश जानुपर्ने बाध्यताले पनि राखेका छन्, यो दुवै समस्याको अन्त्य हुनुपर्छ ।

यस्तै कतिपय आफूहरू सुखमा रमाएका हुन्छन् । तर, जन्मदिने बुबाआमालाई बेसहारा बनाएको देखिन्छ । जसले गर्दा पनि हामीहरूलाई पनि त्यस्तै चिन्ता लाग्छ । ’ यस्तै उनले पछिल्लो समय हराउँदै गएको हाम्रो कला, संस्कृति संस्कारलाई संरक्षण गर्नको लागि विद्यालयको ठुलो भूमिका हुने समेत बताइन् । छोराछोरीलाई कस्तो संस्कार सिकाउने भन्ने कुरामा अभिभावको पनि मुख्य जिम्मेवारी हुन्छन् । तर, विद्यालयले पनि शिक्षा दिने भएकाले यस्ता कुराहरू सिकाएमा उनीहरूलाई थप ज्ञान हुने भएकोले आजको कार्यक्रम राम्रो भएको र आगामी दिनहरूमा पनि यस्तै हुनु पर्ने उनको भनाइ थियो ।

विद्यालयका प्रधानाध्यापक छवि कुमार वलीले छोराछोरीले बिर्सिएको नेपाली संस्कार संस्कृति र जिम्मेवारी बुझाउनका लागि अभिभावक स्याहारसुसार कार्यक्रम आयोजना गरिएको बताए । उनले विद्यालयले दाङमा पहिलोपटक यस्तो कार्यक्रम आयोजना गरेको समेत बताए । विद्यार्थीलाई अभिभावक प्रतिको माया र दायित्वबोध गराउन ‘अभिभावक स्याहारसुसार’ कार्यक्रम आयोजना गरेको उनको भनाइ छ । उनले वृद्धाश्रमलाई घटाउने र आफ्नै घरमा भएको मीठोमसिनो खाएर अभिभावकलाई सम्मान पूर्वक खुवाउने र स्याहारसुसार गर्ने बनाउन स्कुलमा यो कार्यक्रम आयोजना गरिएको समेत बताए । साथै वृद्धा आश्रममा बस्नु भएका अन्य बाबुआमाहरू जसले अनेकौं दुख, कष्ट, रोदन, पीडा सहेर बस्नु भएको छ । उहाँहरूले भोगेको जस्तो दुख आफ्ना बाबुआमाहरूले भोग्न नपरोस्, उनीहरूमा स्वदेशको माया पलाओस्, नेपाल आमा प्रति उनीहरूको माया श्रद्धा कहिलै कमी नहोस् भनी विद्यालय अध्ययनरत विद्यार्थीहरूलाई तेरौटेमा रहेको वृद्ध आश्रममा अवलोकन गराइएको समेत उनको भनाइ छ । कार्यक्रमको सहजीकरण विद्यालयका कार्यक्रम प्रमुख शरद शर्माले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार